अर्को निर्वाचनसम्म यही गठबन्धनको निरन्तरता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताएका छन् । सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने ठोकुवा गरेका हुन्।
‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन,’उनले भने,’यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
प्रधानमन्त्रीले राम्रो गर्दै जानेतिर आफ्नो ध्यान रहेको बताए। भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृतिका कारण अनावश्यक विरोध भएको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा राम्रो गर्दै जाने भन्दै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए।