मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


काठमाडौं । कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । हिजो नै विश्वासको मत लिने तयारी गरिए पनि अबेर रातिसम्म पनि सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेपछि राजीनामा दिनु पर्ने वा पुनः विश्वासको मत लिनुपर्ने अवस्था छ । यी दुई विकल्पमध्ये कार्की विश्वासको मत लिने पक्षमा छन् । तर, आफ्नो पक्षमा स्पष्ट बहुमत आउने निश्चित नहुँदासम्म उनी मत विभाजन प्रक्रिया अगाडि बढाउने पक्षमा देखिएका छैनन् । जसका कारण बिहीबार यो प्रक्रिया अगाडि बढ्न सकेन । कोशि प्रदेश सरकारमा विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक छ । कोशि प्रदेशमा एमालेका ४०, राप्रपाका ६, कांग्रेसका २९, माओवादी केन्द्र १३, नेकपा (एकीकृत समाजवादी) ४ र जसपा १ सांसद छन् । यसमध्ये सभामुख माओवादीबाट छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *