कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे प्रसाईं


काठमाडौं । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न,नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । उच्च अदालत विराटनगरको इलाम इजालशले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर, प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ । अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई असार २० गते बोलाइएको छ । प्रसाईंको पक्षबाट बी एण्ड सीका प्रशासकीय अधिकृत टिकाप्रसाद अधिकारीले रिट दायर गरेका थिए । कुमारी बैंकले २०८० वैशाख १ गते ऋण तिर्न ताकेता गर्दै पठाएको पत्र कार्यान्वयन भएमा धितोहरु समेत लिलाममा गइ कालोसूचीमा समावेश गर्ने प्रवल सम्भावना रहेको र उपकरण अभावमा सेवा संचालन गर्न समेत वाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु,नगराउनु भनी प्रसाईंका तर्फबाट अधिकारीले रिटमार्फत अन्तरिम आदेशको माग गरेका थिए । तर अदालतले भने यसलाई अस्वीकार गरेको हो । छलफलका लागि बोलाइएको मितिसम्म ऋण असूलीको कुनै पनि कानूनी प्रकृया अघि नबढाउन अदालतले बैंकलाई आदेश दिएको छ ।

प्रसाईंले २०७९ फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाबाट नागरिक बचाउ महाअभियान सुरु गरेका थिए । अभियान घोषणा गरेसँगै उनले बैंकको ऋण नतिर्ने, ऋण उठाउन आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने तथा आक्रमण गर्ने जस्ता अराजक गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्र बैंकका अनुसार प्रसाईंले बी एण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा गरी साढे ५ अर्ब रुपैयाँ ऋण लिएका छन् । प्रसाईंले अहिलेसम्म बैंकबाट लिएको ऋणको साँवा ब्याज तिरेका छैनन् । तर, बैंकबाट ब्याजको पुँजीकरण गरी साँवा ऋण बढाउँदै आएका छन् । उनले बैंक वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढाउन थालेसँगै बैंकहरुले ब्याज पुँजीकरण गर्न अस्वीकार गर्न थालेपछि प्रसाईं थप अफ्ठ्यारोमा परेका छन् । साँवा ब्याज नतिरेपछि धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्न अन्तिमपत्र काटेसँगै उनी त्यसलाई रोक्न अदालत पुगेका हुन् । ०७९ पुस मसान्तको तथ्यांक अनुसार नबिल, प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्स लगायतबाट प्रसाईंले ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । गत पुस महिनापछि उनले कुनै पनि बैंकलाई ऋणको साँवा ब्याज तिरेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *