ललित दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन ललित माल्दिभ्स जाने
काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । यी दुई प्रतियोगिता असार २० देखि २४ गतेका बीचमा हुनेछ । ललितले १३औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । आठौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौल समूहमा नेपाल चुनौती प्रस्तुत गर्नेछन् ।
आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार, एक हजार र ५०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । ललितसहितको तीन सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छन् । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायक दिनेश श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।