नारायणकाजी स्मार्ट बन्दा कांग्रेस र एमाले नजिकिँदै, देउवालाई ओलीको फोन

काठमाडौं । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेससँग मिलेर सरकार बनाउने तहमा पुगिसकेका छन् । कतिसम्म भने ओली कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेको बताइन्छ । तर औपचारिक रूपमा बाहिर आउन सकेको छैन ।

कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् ।

मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ । ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने बचन दिइसकेको बताइन्छ ।

तीन दिनअघि ओलीले देउवालाई फोन गर्दै कोसी प्रदेशमा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । तर देउवाले तत्काल असम्भव भएको जवाफ दिएको बुझिएको छ । कोसीमा आफ्नो पार्टीको सरकार बनाउन सके केन्द्रमा पनि हात हाल्ने एमालेको दाउ छ । त्यसको सुइँको पाएका ओलीले देउवालाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको नेताहरू बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति पनि कांग्रेस सभापति देउवा सन्तुष्ट छैनन् । पछिल्लो समय गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानीछानी कांग्रेस नेतालाई टार्गेट बनाएर बदनाम गराउन थालेको भन्दै देउवाले असन्तुष्टि जनाइसकेका छन् । खासगरी कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पक्राउ गर्ने बेला गृहमन्त्री श्रेष्ठले सत्ता गठबन्धनसँग छलफलसमेत नगरेकोमा देउवा असन्तुष्ट छन् । यसबारे देउवाले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको बुझिएको छ ।

अझ गृहमन्त्रीको हवाला दिँदै कांग्रेस सांसदद्वय आरजु देउवा र मञ्जु खाँणको राजनीतिक भविष्य नै समाप्त पार्न नारायणकाजी लागेको भेटिएपछि प्रचण्डलाई उनलाई हटाएर वर्षमान पुनलाई गृहमन्त्री बनाउने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि एमाले चिन्तामा परेको छ । एउटा बचेको कोसी प्रदेशमा पनि आफ्नो सरकार ढलेपछि अहिले एमाले अध्यक्ष केपी ओली तनावमा परेका छन् । गत पुसमा माओवादीलाई कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ ।

एमालेलाई अहिले प्रचण्डको भारतलाई रिझाउने अभिव्यक्ति ठूलो एजेन्डा बनेको छ ।एमाले महासचिव शंकर पोखरेललाई यसलाई तन्काउने काम गरिरहेका छन् । ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटकपटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाइ उपरोक्त शृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।

प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो । जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ,’ पोखरेलले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *