एसईईको नतिजा गत वर्ष भन्दा सुधार,माथिल्लो जीपीए ल्याउनेको संख्या बढे
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताए । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको शर्माले बताए ।
त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जीपीए ल्याउनेको संख्या गत वर्ष भन्दा बढी छ’ उनले भने ।
अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताए । विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमिा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उनको भनाइ छ । कोभिडका अलावा यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो’ शर्माले भने ।
बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको उनको भनाइ छ ।