मलामी जाँदा तोसिमा कार्की र कृष्ण कँडेलको व्यवहारले सबै लज्जित
काठमाडौं । नेपालीमा एउटा भनाइ प्रचलित छ, मलामी जॅादा मलम लगाउन सकिन्न भने नजानु। बाँचुञ्जेल सबैले उसको विरोध गरे पनि गाली गरे पनि मरेपछि उसको आत्माको शान्तिका लागि प्रार्थना गर्ने चलन छ । त्यसैले शवयात्रा र श्रद्धाञ्जली दिनेबेला सबैले आफ्नो बोलीलाई नियन्त्रण गरेर बोल्ने गरिन्छ । मात्र श्रद्धाञ्जली दिने चलन छ ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्की र गायक कृष्ण कँडेलको व्यवहारले अहिले सबैलाई लज्जित तुल्याएको छ । सीतालाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले युट्युबरलाई दिएको भिडियो क्लिप्समा उनले बोलेका कुराले उनको सांसद पदकै हुर्मत लिएको छ ।
मलामी गएकी कार्कीले उल्टै प्रचण्डको घाउमा नुनचुक दलेको देखियो । उनले बोलेको पूरै भिडियो हेर्दा पनि तोसिमाले सोमत देखाउन नसकेको प्रस्टै हुन्छ । भलै रास्वपाका कार्यकर्ता अहिले उनको बचाउमा लागेका किन नहुन् । प्रधानमन्त्री भएर आफ्नी श्रीमतीको ख्याल गर्न नसक्ने भन्नु, प्रचण्डले कसरी सबैको ख्याल गर्न सक्छन् भनेर बोल्नुले तोसिमा सही हुन् भन्ने कसैलाई लाग्दैन ।
अहिले प्रचण्डलाई जे बितेको छ, त्यो भोलि तोसिमाको घरमा पनि पर्छ यो प्राकृतिक कुरा हो । मलामी जाँदा धेरैले आफ्नो रिस देखाउँदैनन् । भिडियोमा तोसिमाको प्रचण्डले कर्कलो घारी नै फाँडेको जस्तो देखिन्छ । च्याँठिएर बोल्ने उनको शैली पहिलेदेखि नै आलोचित छ । युट्युबरलाई बोलाएर त्यसकै भरमा राजनीति गर्दा रास्वपाका सांसदहरूले सामाजिक मानमर्यादाको ख्याल गरेको नदेखिएको जनस्तरबाट गुनासो आउने गरेको छ ।
अहिले मात्र होइन, तोसिमाले यसअघि पनि यस्तै गाईजात्रा देखाएकी थिइन् । डेढ महिने स्वास्थ्यराज्यमन्त्री भएका बेला इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरे । तत्काल सुरक्षाकर्मीले उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगेर भर्ना गरियो । आत्मदाह गर्नुअघि उनले सामाजिक सञ्जालमा धेरैको नाम लिएका थिए । त्यसमा तोसिमा कार्की पनि पर्छिन् ।
भोलिपल्ट बिहानै तोसिमा बर्न अस्पताल पुगिन् । उनले जीवनमरणको दोसाँधमा रहेका आचार्यलाई मेरो नाम किन लिएको भनेर थर्काइन् । जबकि आइसियुमा उपचाररत बिरामीको फोटो र भिडियो खिच्न हुन्न भन्ने तोसिमाले ख्याल गरेको पनि देखिएन । उनी आफैं चिकित्सक पनि हुन् । त्यहीबेलादेखि तोसिमा ओभर रेटेड सांसद हुन् भन्ने सबैले बुझेका थिए ।
यस्तै, इन्द्रेणी दोहोरी गीत प्रतिष्ठानका सञ्चालक कृष्ण बुधबार पशुपति आर्यघाटमा जुन व्यवहार देखाए, त्यसले मान्छेकै हुर्मत लिएको छ । उनले अहिलेसम्म आफूले कमाएको इज्जत, मानप्रतिष्ठा सबै बागमतीमै सेलाएको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका कँडेलले श्रद्धाञ्जली दिँदा देखाएको दृश्य पूरै नौटंकी नै देखिएको छ ।
उनले पहिले सीताको पार्थिव शरीरमा फूल चढाएको र आफूले माला चढाएको भिडियो खिच्न दौडदै गएर अर्कालाई हातमा थमाएर पार्थिव शरीरमा माला लगाएको भिडियो बाहिरिएको छ । यो दृश्यले अहिले कँडेल कतिसम्मका ढोंगी रहेछन् ? यस्तै भिडियो देखाएर कस्तो समाजसेवा गर्न खोजेका रहेछन् भन्दै उनको आलोचना भइरहेको छ ।