महाकाली सहकारीको स्थापानको छोटो समयमा नै उत्कृष्ट संस्था बन्न सफल


महाकाली बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले गत आर्थिक बर्ष २०७९।८० को असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । सहकारी विभागको निर्देशन अनुसार हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको उक्त संस्थाले स्थापनाको छोटो समयमा नै वित्तीय रुपमा छलाङ्ग मार्न सफल भएको छ । कागेश्वरी मनोहरमा वडा नं ९ मा स्थापना भएको सो संस्थाले दोस्रो साधारणसभा सम्पन्न गरेको छ । कुशल व्यवस्थापन र सामाजिक छवि उच्च भएका व्यक्तिहरुद्धारा सञ्चालित संस्था भएकाले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सकेको छ । स्थानिय व्यक्तिहरुलाई मात्र समेटेर सीमित कार्यक्षेत्रभित्र कारोवार गर्दै आएको संस्थाको अध्यक्ष बालकुमार बाँस्तोला रहेका छन् । बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सहकारी क्षेत्रमा पनि प्रत्यक्ष रुपमा जोडिएर काम गरेका बाँस्तोलासँग वित्तीय संस्था सञ्चालनका लागि राम्रो ज्ञान रहेको छ । त्यसैको फलस्वरुप संस्थाले आफ्नो उच्चाइ लिन सकेको हो ।

संस्थाको सबल पक्ष भनेको बलियो शेयर पुँजी रहेको छ । लामो समयसम्म सञ्चालन भएका कतिपय सहकारी संस्थाको यो परिमाणमा शेयर पुँजी पाइदैन । तर महाकाली सहकारीले भने शेयर पुँजीलाइ संस्थाको मेरुदण्डको रुपमा लिएको छ । गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड २७ लाख २३ हजार रहेको छ । त्यसैगरी संस्थाले शुरुवातदेखि नै सहकारी ऐनले व्यवस्था गरेको कोषहरुमा रकम जम्मा गर्दै आएको छ । संस्थाले शुरु देखिनै ऐनले व्यवस्था गरे अनुसार कमाएको नाफाबाट कोषहरुमा रकम छुट्याउन शुरु गरेको अध्यक्ष वाँस्तोलाले बताए । सोही अनुरुप संस्थाको जगेडा कोष ७ लाख ४६ हजार, विभिन्न कोषहरुमा ६५ लाख ८० हजार र संस्थागत लगानी ४ लाख ५ रहेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार ३ करोड २१ लाख १४ हजार तरलता रकम रहेको छ । जुन प्रतिशतमा ३९.३९ हुन आउँछ ।

अहिलेको वित्तीय बजारको विद्यमान अवस्थालाइ मध्यनजर गरि संस्थाले प्रर्याप्त तरलता कायम गरेको अध्यक्ष बाँस्तोलाले जानकारी दिए । संस्थाले गत असार मसान्तसम्म ८ करोड १० लाख २१ हजार बचत संकलन गरी ९ करोड ५१ लाख २९ हजार ऋण लगानी गरेको छ । २ सय ८३ जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति १३ करोड ११ लाख ५८ हजार पुगेको छ । संस्थाबाट ४७ जना सदस्यले ऋण लिएको प्रतिवेदनमा उल्लेख छ। वित्तीय संकटका कारण सहकारी संस्थाहरूलाइ ऋण असुलीमा समस्या परिरहेको बेला महाकालीले भने ब्याज मुल्तवी शुन्य बनाउन सकेको छ।

त्यसैगरी संस्थाले एकिकरणका लागि समेत पूर्व स्वीकृति लिइसकेको जनाएको छ । यसै आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हर्षित सहकारीसँग एकिकरण सम्पन्न गर्नेगरी प्रकृया अगाडि बढाइएको अध्यक्ष बाँस्तोलाले बताए । एकिकरणपश्चात संस्थाको कुल कारोबार २१ करोडमाथि पुग्ने भएको छ। ‘सबल, सक्षम र गतिशील बन्दै समृद्ध जीवनका लागि सहकारी’ भन्ने मुल नाराकासाथ अगाडि बढेको उक्त संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक जीवनमा परिवर्तन ल्याउन काम गर्ने जनाएको छ । स्थापनाकालमा नै कागेश्वरी मनहरा नगरपालिकाभित्र उत्कृष्ट बन्ने लक्ष्य लिएको संस्थाले सोही अनुरूप गतिविधि गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *