प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्ने संघीय संसद सम्मेलनको निष्कर्ष

काठमाडौं । संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार संसद भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् ।

संघीय शासन प्रणालीमा संघ र प्रदेश स्वतन्त्र रहने भएकाले राजनीतिक फेरवदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्दै केन्द्रीय प्रभावबाट मुक्त हुने वातावरणका लागि पहल गर्ने बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए ।

कोशी प्रदेशसभाको बिषयमा सम्मेलनमा छलफल भएको अदालतलाई प्रभाव पार्ने गरि कुनै निष्कर्ष ननिकालेको उनले बताए । सभामुख घिमिरेले व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलव्ध गराउनु सरकारको दायित्व भएकाले आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनैपनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए ।

अहिलेको मर्यादाक्रममा केही प्रश्न उठेको अवस्थामा सरकारले मर्यादाक्रम तोक्दा तलमाथि गर्ने काम हुने गरेकाले बताउँदै यसमा पनि बैज्ञानिक तवरले छलफल गर्नुपर्नेमा सम्मेलनले जोड दिइएको उनको भनाइ छ ।

सम्मेलनले संघीय शासन प्रणालीको भावना अनुकूल प्रदेशसभाका सभामुख र उपसभामुखको मर्यादाक्रममा पुनर्बिचार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनको जानकारी दिए ।

त्यस्तै, सम्मेलनले सभा तथा समितिबाट दिइएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यलाई थप परिणाममुखी बनाउने निष्कर्ष निकालेको छ ।

यस्तै, बैठकले संसदको अधिवेशन आह्वान, अन्त्य, अधिवेशनमा पेशहुने विधेयकहरु लगायत सरकारी कार्यसूचीमा रहने विषयहरुको सम्वन्धमा सरकारले सभाध्यक्षसँग परामर्श गर्ने पद्धतिको अवलम्बन गर्ने, सभाको बिजनेसको जानकारी अधिवेशनअगावै सभाध्यक्षलाई दिन सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *