फेसबुकबाट माया बसेपछि बिहेको कुरो छिन्न पाकिस्तान पुगिन् !
बीबीसी । अबको केही दिनमा अञ्जु र मेरो बिहेको औपचारिक रूपमा टुङ्गो लाग्ने छ । त्यसको १०-१२ दिनपछि उनी भारत फर्कने छिन् । उनी बिहे गर्न फेरि पाकिस्तान आउने छिन् । यो मेरो र अञ्जुको व्यक्तिगत जीवन हो र यसमा कसैले हस्तक्षेप नगरोस् भन्ने हामी चाहन्छौँ । हामी सञ्चारमाध्यमबाट पनि टाढा बस्न खोजिरहेका छौँ।
यो भनाइ पाकिस्तानको खैबर पख्तूनख्वा राज्यको दीर बाला जिल्लाका २९ वर्षीय नसरुल्लाहको हो । केही वर्षअघि सामाजिक सञ्जालमार्फत् उनको भारतको उत्तर प्रदेशकी एक युवतीसँग चिनजान भएको थियो । उनीहरूको सम्बन्ध समयसँगै प्रेममा परिणत भयो।
उनीहरूको सम्बन्ध यति प्रगाढ बन्यो कि हालै अञ्जु नसरुल्लाहसँग बिहे गर्ने उद्देश्यले पाकिस्तान पुगिन् ।
अहिले अञ्जु दीर बालास्थित नसरुल्लाहको घरमा बस्छिन् । उक्त जिल्लाका प्रहरी अधिकारी मोहम्मद मुश्ताकले बीबीसीसँग कुरा गर्दै अञ्जु त्यहाँ भएको पुष्टि गरेका छन् ।
यो जोडीको कथा हालै सार्वजनिक पाकिस्तानकी महिला सीमा हैदर र नोएडाका सचिन मीणाको ‘प्रेमकथा’सँग मिल्दोजुल्दो छ । यद्यपि अञ्जु कानुनी रूपमा भिसा लिएर पाकिस्तान पुगेकी हुन्। पाकिस्तानको भिसा प्राप्त गर्नका लागि उनले दुई वर्ष कुर्नुपरेको थियो।
पाकिस्तानी नागरिक सीमा हैदर केही साताअघि आफ्ना चार सन्तान लिएरै नेपालको बाटो हुँदै अवैध रूपमा भारत पुगेकी थिइन्। उनको सचिन मीणासँग पब्जी खेल्ने क्रममा चिनजान भएको थियो । पछि उनीहरू प्रेममा परे ।
उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, म उनलाई माया गर्छु र उनकै लागि आफ्नो देश छोडेर यहाँ आएकी हुँ ।
पाकिस्तान र भारतका नागरिकहरूबीच हुने प्रेम र विवाह नयाँ कुरा होइन। तर दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएकाले भारत र पाकिस्तान दुवैले एकअर्काका नागरिकलाई हतपत भिसा दिँदैनन्।
अञ्जुका लागि पाकिस्तानको भिसा हात पार्नु सहज थिएन। अनि दीर बालासम्म पुग्नु अझ कठिन थियो। उक्त स्थान अफगानिस्तानको सीमासँग जोडिएको दुर्गम क्षेत्रमा पर्छ।
सामान्यतया भारत र पाकिस्तान दुवै देशले एकअर्काका नागरिकलाई भिसा दिए भने पनि निकै कम सहरसम्म जाने अनुमति दिन्छन्।
यस्तो परिस्थितिमा अञ्जु र नसरुल्लाहको कथा कसरी सुरु भयो र अञ्जुले पाकिस्तानको भिसा कसरी पाइन् ? अनि उनी दीर बाला जिल्लासम्म कसरी पुगिन् त ?
भिसा पाउनै दुई वर्ष
नसरुल्लाहले बीबीसीलाई बताएअनुसार अञ्जुसँग उनको सम्पर्क केही वर्षअघि फेसबुकमा भेट भएको थियो । उत्तर प्रदेशकी अञ्जु एक निजी कम्पनीमा काम गर्छिन्।
बीबीसीले अञ्जुसँग कुरा गर्न अनुरोध गर्दा नसरुल्लाहले उनले तत्काल सञ्चारमाध्यमसँग कुरा गर्न नचाहेको बताए।
उनी भन्छन्, पहिले हामी साथी बन्यौँ। पछि हाम्रो मित्रता प्रेममा रूपान्तिरत भयो। त्यसपछि हामीले सँगै जीवन बिताउने निर्णय गर्यौँ।
यो निर्णयमा उनीहरूलाई परिवारले समर्थन गरेको नसरुल्लाह बताउँछन्।
दुवै मिलेर अञ्जु पाकिस्तान आउने र यहाँ मेरो परिवारसँग भेटेर बिहेको कुरा छिन्ने योजना बनाएका हौँ। केही समयपछि हामी बिहे गर्छौँ,” उनले भने।
तर अञ्जुको यो यात्रा सम्भव बनाउन त्यति थिएन। सीमा क्षेत्रको समस्याबाहेक दुई देशबीच वर्षौँदेखि चलिरहेको तनावपूर्ण सम्बन्ध पनि एउटा व्यवधान बनेको थियो।