नेपाल र भारतका संसदमा आज एक साथ लफडाको तयारी

काठमाडौं । संयोग नै मान्नुपर्छ बुधबार नेपाल र भारतका संसदमा एक साथ लफडाको तयारी देखिएको छ । नेपालको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ । भारतको तल्लो सदन लोकसभामा विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ ।

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेलाई बोलाइएको छ । आजको बैठक चल्न नदिने एमालेको तयारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन पास भएर कार्गोमा पुगेर पाँच दिनपछि बरामद भएको घटनालाई लिएर एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेको हो ।

एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गर्न लागेको छ ।कम्बोडियाको एक साता लामो भ्रमण सकेर नेपाल फर्केकै दिन एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका थिए । उनले सुन तस्करीमा गृहमन्त्रीकै संलग्नता रहेको आरोप लगाइसकेका छन् । उनले गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म एमालेले नछाड्ने भनिसकेकाले संसद् बैठकमा आज लफडा निम्तिन लागेको हो ।

उता भारतमा मणिपुरको घटनालाई लिएर विरोध भइरहेको छ । मोदीविरुद्धको अविश्वास प्रस्तावले सरकारलाई जातीय हिंसाग्रस्त मणिपुरको स्थितिमाथि लामो बहस गर्न र प्रधानमन्त्रीलाई जवाफ दिन बाध्य पार्ने विपक्षीको विश्वास छ । विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग संसदका दुवै सदनमा लगातार उठाउँदै आए पनि मोदी भने त्यसका लागि तयार भएका छैनन् ।

संसदको मनसुन सत्र ६ दिनअघि अर्थात यही जुलाई २० देखि सुरु भएको हो । सोही दिनदेखि नै विपक्षी दलहरुले मणिपुरको स्थितिबारे संसदमा लामो बहस गरिनुपर्ने र प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । तर सरकार भने त्यसका लागि तयार देखिएको छैन ।

संसदको मनसुन सत्र सुरु हुनु एक दिनअघि मात्रै मणिपुरमा एउटा भिडले दुई आदिवासी महिलालाई खेतमा निर्वस्त्र दौडाइरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सो घटनापछि विपक्षी दल आक्रोशित बनेको थियो भने मणिपुरमाथिको लामो मौनता तोड्दै प्रधानमन्त्री मोदीले दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर यही विषयमा मोदी संसदमा भने बोल्न चाहिरहेका छैनन् ।

विपक्षीको माग र विरोधका कारण सदनमा महत्वपूर्ण विधेयकमाथि छलफल हुन सकिरहेको छैन । सदनको वेलमा आई विरोध गरेको भन्दै आम आदमी पार्टीका सांसद सञ्जय सिंहलाई यो सत्रभरिका लागि राज्यसभाबाट निलम्बन गरिएको छ ।
मणिपुरमा गत मे महिनादेखि मैतेइ र कुकी आदिवासी समुदायबीच भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म एक सय ४० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *