सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालय प्रशासक पोखरेल अमेरिका भासिएको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रशासक अरुण पोखरेल अहिले कसैको पनि सम्पर्कमा छैनन् । एयरपोर्टमा सुन तस्करी हुन थालेपछि उनी ४० दिन (साउन १५) सम्मको बिदा फारम भरेर सम्पर्कविहीन भएका थिए ।

उनको बिदा स्वीकृतसमेत भएको छैन । अहिलेसम्म उनी कहाँ छन् भन्ने कसैलाई पनि थाहा छ्रैन । राजश्व अनुसन्धान विभागले साउन २ गते अवैध रुपमा नेपाल भित्रिएको करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बरामद गरेपछि पोखरेलको खोजी हुन थालेको हो ।

पहिलोपटक यति ठुलो सुन तस्करी काण्ड बाहिरिएपछि मुलुकको सुरक्षा व्यवस्था र प्रशासनिक क्षेत्रमा ठुलै खेलाबैला मच्चिएको छ । विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख पोखरेल अर्थ मन्त्रालय र भन्सार विभागको नेतृत्वको सम्पर्कमासमेत नआएको बताइन्छ ।

तस्करी लाइनको सुइँको पाएरै उनी मोबाइलसमेत अफ गरेर बसेको जानकारी अर्थ मन्त्रालयको स्रोतले दिएको छ । उनी बिदा नै स्वीकृत नगरी अमेरिका भासिएको अर्थ मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

पोखरेल लामो बिदामा बसेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अर्थ मन्त्रालयले साउन ९ गते नै सहसचिव डा. टोकराज पाण्डेलाई प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएर खटाएको छ ।

विमानस्थलमा कार्यरत प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी सुन बरामद भएको उक्त दिन विदा बस्नुलाई संयोग मात्र मान्न सकिदैन । कतै न कतै सुन तस्करी सेटिङको कनेक्सनको जालो जोडिएको अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयले पोखरेललाई साउन ९ गते मन्त्रालयमा सरुवा गरेको थियो । तर अहिलेसम्म उनी हाजिर हुन भने गएका छैनन् ।

विभाग, मन्त्रालय कतैतिर सम्पर्कमा नरहेका पोखरेलले गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन फाराम भने भरेर मन्त्रालयको प्रशासन महाशाखामा पठाइसकेको मन्त्रालयको स्रोतले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेकै अवस्थामा उनलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माले एयरपोर्टमा खटाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *