माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जनाको जिम्मेवारी तोकेको हो ।
बैठकले समग्र पार्टीको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
त्यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।
उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैर प्रदेश हेर्ने जिम्मा दिएको छ । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष प्रचण्डले अहिले जारी केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् ।