नेइमारसहितका पाँच खेलाडीलाई क्लब छोड्न पिएसजीको आग्रह
काठमाडौँ । पिएसजीले नेइमारसहितका पाँच खेलाडीलाई क्लबको विकल्प खोज्न आग्रह गरेको छ ।
मिडिया रिपोर्टका अनुसार पिएसजीका प्रशिक्षक लुइस इनरिक र स्पोर्टिंग लुइस काम्पोसले नेइमारसहितका पाँच खेलाडीसँग अलग अलग भेटेर यहि ट्रान्सफर विन्डोमा पिएसजीको विकल्प खोज्न आग्रह गरेका हुन् ।
पिएसजीले लियोनेल मेसी र किलियन एम्बाप्पे टिममा नहुने भएपछि नेइमारलाई पनि बाहिर राख्ने निष्कर्षमा पुगेको बताइएको छ । फ्रान्सको आरएमसी स्पोर्टको रिपोर्टका अनुसार पिएसजीले नेइमार, मार्को भेराटी, हुगो एकिटिके, जुआन बेरनाट र रेनाटो सान्चेजलाई पिएसजीको टिमको आगामी योजनामा नरहेको बताएको छ ।
मिडिया रिपोर्टका अनुसार नेइमार र भेराटी पिएसजीको प्रशिक्षणमा समेत सहभागी रहेका छैनन् । साथै उनीहरुलाई क्लबको सामुहिक फोटोका लागि भने नबोलाइएको बताइएको छ । यसैबीच नेइमारले पिएसजीको विकल्प खोज्न शुरु गरेको बताइएको छ । नेइमार साउदी क्लब अल हिलालमा गएर लोनमा बार्सिलोना जानसक्ने समेत बताइएको छ । त्यस्तै अर्को मिडिया रिपोर्ट अनुसार अमेरिकी लिग एमएलएस क्लबहरुले पनि नेइमारलाई भित्र्याउन पहल गरिरहेको उल्लेख गरिएको छ ।
पिएसजीले नेइमारलाई २२० मिलियन युरोमा बार्सिलोनाबाट भित्र्याए पनि लगातारको इन्जुरी र उनको लाइफ स्टाइलका कारण क्लबसँगको सम्बन्ध शुरुवातदेखिनै राम्रो रहेको मानिदैन । नेइमारले पटक पटक बार्सिलोना फर्किने प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन ।