ग्राहकका डाटा, गोपनीयता र सुरक्षा उच्च प्राथमिकतामाः एनसेल


काठमाण्डौ । एनसेलले ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता राखेको स्पष्ट पारेको छ। केही सञ्चार माध्यममा ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले यस्तो स्पष्टोक्ति दिएको हो। ‘त्यस्ता समाचार हामी खण्डन र घोर भर्त्सना गर्दछौँ’, एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याइ छ।कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहीत स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको एनसेलले जनाएको छ। ‘यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् एनसेलको स्पष्टोक्ति
हामी ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौँ। समाचारमा उल्लेख भएझैँ हाम्रा ग्राहकको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन। न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौँ।
एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैँ टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट÷कनेक्ट अर्थात जोडेको छैन। कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौँ र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौँ।हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौँ। ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।
टेरामक्ससम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुनेछ। जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौँ तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिने छैनौँ।
विज्ञप्तिमा एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी रहेकोे र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको उल्लेख छ। ‘ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यसलाई दायित्वका रुपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीका रुपमा हेर्छौं।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *