युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को असार मसान्तमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्जभएसँगै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषको आकार बढेर ६० करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १९ करोड ३८ लाख रुपैयाँ थियो ।
त्यस्तै, इन्स्योरेन्सको बीमा कोष पनि ४२ करोड २ लाखबाट बढेर ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडामा ३ करोड १९ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सको व्यवस्थापन खर्च भने बढेर ३ करोड २७ लाख पुगेको छ । जुन गत आवको असार मसान्तसम्ममा २ करोड ८३ लाख रुपैयाँ थियो ।
कम्पनी मर्जरमा गएसँगै व्यवस्थापन खर्च ह्वात्तै बढेको हो । हालसम्म इन्स्योरेन्सले १ अर्ब ६३ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४।४९ प्रतिशतले बढेको हो । २०७९ असारसम्ममा कम्पनीले एक अर्ब ५६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, जारी बीमालेखको संख्या घटेर एक लाख २६ हजार २७४ मा झरेको छ । इन्स्योरेन्सले अघिल्लो आवको असारसम्ममा १ लाख ३७ हजार २०७ वटा बीमालेख जारी गरेको थियो । समीक्षा अवधिमा २२ हजार ५२८ वटा बीमालेख नविकरण गरिएको थियो । इन्स्योरेन्सले दावी भुक्तानी पनि बढाएको छ । अघिल्लो वर्ष ६९ करोड ४२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले १४ हजार २३३ जना बीमितलाई १ अर्ब ७५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । दुई इन्स्योरेन्स एक आपसमा गाभिएर एकीकृत कारोबार शुरु गरे पश्चात कम्पनी प्रति बीमितहरुको विश्वास थप बढेको इन्स्योरेन्सको विश्लेषण छ । कम्पनीको पुँजी वृद्धि र शाखा सञ्जाल वृद्धि भएअनुसार भविष्यमा कम्पनीले विविधिकरण गरी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ ।