कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ४७, विपक्षमा ३० मत
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।
गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले २० दिनपछि विश्वासको मत मागेका थिए । उनले मागेको विश्वासको मतको पक्षमा ४७ जनाले मत दिएका छन् भने विपक्षमा ३० मत परेको छ ।
गठबन्धनले अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीबाट पनि विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पुर्याएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने प्रदेशसभा बैठक बहिष्कार गरेको छ । आजको बैठकमा ७७ जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए ।
प्रदेशसभा बैठको अध्यक्षता ज्येष्ठ प्रदेशसभा सदस्य मन्सुरीले गरेका थिए । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आएपछि प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएका थिए ।
संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेपछि कोशीमा फेरि संवैधानिक जटिलता भने देखिएको छ ।