चन्द्रागिरि साकोसको आयोजनामा ३३ औं पाम कार्यशाला सम्पन्न


काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि काठमाडौंको आयोजनामा एक्सेस ब्राण्डिङ बागमती क्लस्टर तेश्रो व्याचको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । काठमाण्डौं, ललितपुर, धादिङ र चितवन जिल्लाका ७ वटा संस्थाको सहभागितामा सञ्चालन भएको उक्त कार्यक्रममा नेफ्स्कुनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई बधाई ज्ञापन गरिएको थियो ।

नेफ्स्कुन अध्यक्ष पौडेलले संस्थाहरुले सदस्यहरु संग नजिकको सम्बन्ध कायम गरी विश्वास आर्जन गर्नु नै आजको मुख्य आवश्यकता रहेको औंल्याउँदै सहकारी साख पुनरुत्थानको लागि अभियान र सरकार दुवै पक्ष निर्दिष्ट उद्देश्यका साथ अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो भने नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले असहज परिस्थितिहरुमा पनि असल अभ्यास गर्नुलाई नै गुणस्तर भनिन्छ भन्ने विचार व्यक्त गर्नुभयो । चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले व्यवसायिक अभ्यासहरु गर्दै गर्दा सामाजिक हित, मानवीय संवेदना पनि संगसंगै विचार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमा सहभागी बाबियाखर्क साकोस काठमाण्डौ, चन्द्रागिरि साकोस काठमाण्डौं, हाम्रो साकोस ललितपुर, नयाँपाटी साकोस काठमाण्डौं, साहारा महिला साकोस धादिङ, श्रोत परिचालन साकोस धादिङ र युनिक साकोस चितवनका कार्यकारी प्रमुखहरुले २०८० वैशाख देखि श्रावण सम्मको प्रगति विवरणहरु प्रस्तुतीकरण गर्नुभएको थियो भने नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले नेफ्स्कुनको स्वनियमन मार्गनिर्देशनको बारेमा प्रकाश पार्नुको साथै कार्यशालको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ सहकारीविद केशववहादुर थापाले सहकारी संस्थाहरुले अन्य क्षेत्रहरु प्रवेश गर्नु पूर्व आफ्नो वरपर छुटेका व्यक्ति र घरधुरीलाई नै समेट्न प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त ३३ औं कार्याशालाले सहकारी संस्थाका नीति तथा आन्तरिक कार्यविधिहरु पुनरावलोकन गर्ने, मासिक प्रतिवेदनहरु पेश गर्दा नेफ्स्कुन एम.आई.एस. मार्फत पेश गर्ने, ऋण नीति अद्यावधिक गर्दा ऋण विश्लेषण विधिमा जलवायुमा पहल स्वरुप छैठौं सूचक समावेश गर्ने र साकोसहरुको छवी निर्माणको लागि सदस्यहरुसंगको सम्बन्धलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । उक्त व्याचको आगामी कार्यशाला नयाँपाटी साकोसको आयोजनामा २०८० मंसिर ८ गते हुने निर्णय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *