बजार अनुगमनमा १० वटा सरकारी निकायको गस्ती, व्यवसायी आतंकित


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । केही दिनअघि विभागले बजार अनुगमनको जिम्मा पाएका सबै स्टेक होल्डरसँग छलफल गरेर असोज १ गतेदेखि संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरेको हो । विभागका प्रवक्ता होमनाथ भट्टराईले असोज १ गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिए । ‘हामीले हाल दैनिक ३ समूहबाट बजार अनुगमन गर्दै आएका छौँ, यसअघि सबै निकायले छुट्टा छुट्टै बजार अनुगमन गर्ने गरेकोमा यसपालिदेखि संयुक्त अनुगमन गर्ने निर्णय गरेका हौँ । संयुक्त अनुगमनमा विभागसँगै आन्तरिक राजस्व विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु रहने उनले बताए ।

चाडपर्वको समयमा कालोबजारी तथा मूल्य बृद्धि बढ्ने भन्दै विभागले संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको जनाएको छ । संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन् । विभागले बजार अनुगमनको जिम्मा ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा ७५३ वटा स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनका लागि अधिकार प्रत्यायोजन गरिसकेको छ । सबै स्थानीय तहलाई अधिकार दिएपनि बजार अनुगमन प्रभावकारी नभएको विभागले बताउँदै आएको छ । बजारमा बढी कारोबार हुने समयमा सरकारले अनुगमनको नाममा व्यवसायीलाई आतंकित पार्ने र पैसा असुल्ने काम गर्दै आएको व्यवसायीको आरोप छ । उपभोक्तावादीले भने बस्तु तथा सेवाको गुणस्तर र मूल्य अनुगमन चाडपर्वको बेलामा मात्र नभई नियमित गर्नुपर्ने बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *