ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान
काठमाडौं । ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि अभियुक्त्त अरुणकुमार श्रेष्ठ कारागार चलान भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो भने एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । ललिता निवास प्रकरणमा प्रक्राउ परेका १७ जनालाई धरौटीमा छोडन आदेश दिएपछि सो धरौटी बुझाउन नसकेपछि नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन् । अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो ।
आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो। धरौटी बुझाएर उनी आइतबार राति नै छुटेका थिए ।
सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो । सिआइबीले यस प्रकरणमा संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो । तर सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्तेमा मात्रै मुद्दा दर्ता गरेको थियो।