संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै शान्ति स्थापना गर्नेमा सफलता हासिल गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर राख्न सफल भएको बताएका छन् ।

संविधान दिवशको अवसरमा बुधबार शुभकामना व्यक्त गर्दै सभापति देउवाले संविधानको व्यवस्थाबमोजिम कानुन निर्माण भएर संविधान पूर्ण कार्यान्वयन हुने चरणतर्फ अघि बढेको समेत उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, ‘ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज ८ बर्ष पुरा भएर ९ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका छन् । नयाँ संविधानअनुसार विभिन्न ऐन–कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको छ ।’

उनले नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसा काम गर्न अग्रसर देखिएको समेत बताए । संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्नेमा सफलता हासिल गरेको समेत उनले दाबी गरे ।

सभापति देउवाले भने, ‘लोकतान्त्रिक संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ । संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्चाउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी छ ।’

उनले राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र विभिन्न पेशाकर्मीहरूको सामूहिक प्रयत्नबाट मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *