चीनमा प्रचण्डको लोकप्रियताको पारो छाँगो खसेजस्तै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई हप्ता लामो विदेश भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका छन् । गत भदौ ३० अमेरिकाको न्युयोर्क उडेका प्रचण्ड चीन हुँदै नेपाल फर्के ।
प्रधानमन्त्रीको दुई साता लामो विदेश भ्रमणको उपलब्धि भने शून्य भएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेको भोलिपल्टै न्युयोर्कबाट बेइजिङ प्रस्थान गरेका प्रचण्डले चीनले आफूलाई ठूलो सम्मान दिने अपेक्षा गरेका थिए । तर उनी यसपटक चीन जाँदाको मुख्य उपलब्धि नै राजकीय बन्नु मात्र रह्यो । उनले आफैँले घोषणा गरेको कतिपय महत्वपूर्ण मुद्दामा प्रवेश गर्नै चाहेनन् ।
हाङचौमा आयोजित १९औँ एशियाली खेलकुद उद्घाटन समारोहमा सहभागी भएर बेइजिङ पुगी समकक्षी लि छ्याङसँग दुईपक्षीय वार्ता गरेका उनको भ्रमणको औपचारिक कार्यक्रम यति मात्र हो । हाङचौमा आयोजित १९औँ एशियाली खेलकुदको उद्घाटन समारोह र बेइजिङमा चिनियाँ समकक्षी लि छ्याङसँग भेटपछि जारी संयुक्त विज्ञप्तिसँगै भ्रमण समाप्त भइसकेको थियो । बडो फुर्सद र मस्त पारामा छिमेकी देशका प्रधानमन्त्रीले यसरी बिदा मनाइरहँदा चिनियाँहरू भने दंग परेका थिए ।
अमेरिकाबाट सोझै चच्याङ प्रान्तको सदरमुकाममा ओर्लिएका प्रचण्डले सोही दिन चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गरेका थिए । ८ गते सोमबार चिनियाँ जनमुक्ति सेनाबाट सलामी ग्रहण गर्दै आफ्नो भ्रमणलाई राजकीय बनाए । प्रचण्ड भ्रमणका बाँकी सहमति राजदूत अथवा सचिवस्तरको भ्रमणले गर्नेभन्दा माथिका छैनन् । जतिसुकै तामझामले प्रसार गरे पनि संयुक्त विज्ञप्तिमा भएका बुँदालाई केलाउँदा प्रचण्डको चीन भ्रमण हात्ती आयो हात्ती आयो फुस्साजस्तो भएको छ ।
०६३ सालमा शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डलाई चीनले निकै महत्व दिँदै आएको छ । जसरी स्वदेशमा प्रचण्डको लोकप्रियताको पारो छाँगो खसेजस्तै खसिरहेको छ, त्यसैगरी चीनप्रतिको विश्वास पनि प्रचण्डले गुमाउँदै गएको बुझिन्छ । गत वर्ष सम्पन्न निर्वाचनपछि बोआओ फोरममा चीनले निमन्त्रणा गरेको थियो । तर, उनी भारतको निम्तो पर्खिएर बसे र राजदूतकै सल्लाहमा नगएको भनिदिए ।
प्रचण्डको चीन भ्रमण भारत भ्रमणजस्तै तीर्थाटनमा परिणत भएको छ । हाम्रा प्रधानमन्त्रीले चीनमै एक साता बिताएर आफूलाई निकै फुर्सदिलो र हाइसञ्चो भएको नेताका रूपमा उभ्याएका छन् । तर प्रचण्डले उच्च भेटघाट र दुई पक्षीय कुराकानीलाई भन्दा तीर्थाटनलाई प्राथमिकतामा राखेको पाइयो । बेइजिङबाट छोङचिङ र त्यहाँबाट तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा हुँदै मानसरोवर दर्शन गर्न पुगेका थिए ।