अपर तामाकोशीको हकप्रद भर्न अब ४ दिन बाँकि


काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिनको लागि अब ४ कार्यदिन मात्र बाँकि रहेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आवेदन दिन बाँकि रहेका शेयरधनीलाई ४ कार्यदिन भित्र अर्थात् असोज २२ गते बैंकिंगसमय भित्र आवेदन दिईसक्न आग्रह गरेको हो । कम्पनीले भदौ १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । अपर तामाकोशीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीको हकप्रदमा हालसम्म सर्वसाधारण शेयरधनीतर्फबाट २ लाख ४५ हजार बढीले आवेदन दिएका छन् ।

बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रदमा २ लाख ४५ हजार ९ सय २२ जना आवेदकले २ करोड ७० लाख ८ हजार २ सय ८३ कित्ताका लागि २ अर्ब ७० करोड ८ लाख २८ हजार ३०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वसाधारण शेयरधनीबाट अझै २ अर्ब ४९ करोडको आवेदन पर्न बाँकि छ। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले असार २२ गते कम्पनीलाई हकप्रदको लागि अनुमति प्रदान गरेको हो । हकप्रद निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ ।
संस्थापकबाट हकप्रद शेयरबापतको ५४० करोड रकम चुक्ता
कम्पनीका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरिसकेका छन् । सर्वसाधारणतर्फको सेयर निष्काशन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि शेयरको बाँडफाँड पनि भइसकेको छ । कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ ।

सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *