नेपालमा मात्र नभएर विश्वभर अर्थतन्त्रमा समस्या आएको छ ः ढकाल


काठमाडौं । नेपाल जग्गा व्यवसायी महासंघले आइतबार आयोजना गरेको रियल इस्टेट व्यवसायी वृहत भेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझाव सरकारले नमान्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । कोरोना तथा रूस युक्रेनबीचको द्वन्द्वले नेपाल मात्र नभएर विश्वभर अर्थतन्त्रमा समस्या आएको छ । ‘अर्थतन्त्रमा देखिएको समस्याबाट कसरी अगाडि बढ्न सकिन्छ भनेर निजी क्षेत्रले सरकारलाई सुझाव पेश गरेको थियो । तर, सरकारले निजी क्षेत्रले दिएको सुझाव आफ्ना स्वार्थको विषय समेटिएको भन्दै आक्षेपसमेत लगाएर निजी क्षेत्रको सुझाव समेटिएन । जसले गर्दा अर्थतन्त्रमा समस्या आयो,’ उनले भने ।

निजी क्षेत्रले दिएको सुझाव सम्बोधन नगरी आफ्नो तरिकाले नीति लागू गर्दा अर्थतन्त्र बिग्रिएको बताउँदै उनले सरकारले अबका दिनमा निजी क्षेत्रको सुझावलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे । निजी क्षेत्रको सुझावलाई नसमेट्दा अर्थतन्त्रमा समस्या आएको भन्नेबारे पछिल्ला दिनहरूमा नीति निर्माण गर्ने निकायहरूले बुझ्न थालेका छन् । उनीहरूमा निजी क्षेत्रको सुझाव पनि सम्बोधन गर्नुपर्ने रहेछ भन्ने मानसिकताको विकास भएको ढकालको भनाइ छ । ‘अहिले सरकारी निकायहरूले निजी क्षेत्रको सुझाव सम्बोधन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । अबका दिनमा भने सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सहज हुने अपेक्षा गरेको छु । अर्थतन्त्रमा देखिएको समस्याले गर्दा मानिसहरूमा लगानी गर्नलाई कन्फिडेन्स आएको नदेखिएको उनले बताए । त्यसका लागि निजी क्षेत्रले विभिन्न सम्मेलन गरेर सुधार गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *