नेपाली काँग्रेसकी मदन भण्डारी

(१) बिषय सन्दर्भ :

२०५२ असोज २९ को विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकाहरुको मुख पृष्ठमा उभिएर भाषण गरिरहेकी एउटी महिलाको तस्विर छापियो । २०५२ साल असोज २७ गते साँझ बिराटनगरबाट काठमाण्डौं हिंडेको नमस्कार ट्राभल्सको रात्रीबस भोलीपल्ट २८ गते बिहान ७ बजे धादिङ्गको सिम्लेबेसीमा सडकबाट करिव १०० मीटर तल खसेर दुर्घटना हुँदा मृत्यु भएकी एउटी विधार्थी नेता,महिला राजनीतिज्ञ,सामाजिक कार्यकर्ता,त्रि.बि.बि.पदाधिकारी र पत्रकारको तस्विर थियो त्यो । रामेछाप को साविक क्षेत्र नं.१ का ने.क.पा. एमालेका(हाल नेकपा समाजबादीका केन्द्रीय सदस्य) तात्कालिन सांसद देव शंकर पौडेलले उनको अन्त्येष्टिको दिन आर्यघाटमा भन्नु भए झैं -“नेपाली कांग्रेसकी मदन भण्डारी थिइन् ।” केही लेखकले भने अनुसार त उनी –“नेपाली कांग्रेसकि बामपन्थी” थिइन् । पूर्वसचिव मुकुन्द प्रसाद अर्यालज्यूले यो पंक्तिकारलाई समबेदना दिने क्रममा ब्यक्त गर्नुभए झैं उनी-राष्ट्रकै सम्पत्ती थिइन् ।”

एउटा नारी स्रष्टालाई उच्च स्थान दिएर पत्रपत्रिकाहरुले उनको तस्वीर सहित दुर्घटनाको समाचार छाप्यो ।अरु कुनै पनि वामपन्थी पत्रिकाहरुमा उनको मृत्युको समाचार प्रकाशित हुन सकेन । बामपन्थी  पत्रिका छलफल तथा काँग्रेस समर्थक पत्रिकाहरु विमर्श,चक्षु,राष्ट्रपुकार र नेपालपत्रले उनको योगदान र त्यागको प्रशंसा गरे । अरु काँग्रेस समर्थक पत्रिकामा उनको समाचार छापिएन । नेपाल टेलिभिजनले उनको सम्बन्धमा एक घण्टा बिशेष कार्यक्रम नै प्रसारण गर्यो । एउटा स्रष्टाको सन्दर्भमा सञ्चारका बिचारहरु विभाजित एवं संकुचित भएको देख्दा सर्वोच्च नेता स्व.गणेशमानजीले “नेपाली राजनितिमा न्यारो माइन्डेडहरुको बाहुल्यता छ” भनेर कुनै बेला दिनु भएको विचारको पनि कुरा स्मरण भयो ।

(२) को थिईन् त ती ?

वीपी जयन्ती २०४९ मा कविता बाचन गरेर आफ्नो सिर्जनशिलता पोखेकी नानु,मृत्युको धम्की र चेतावनी आउँदा आउँदै पनि “झुक्याएर बेच्न लैजाला,ख्यालख्यालैमा जिन्दगी गैजाला” भनेर नुवाकोट र सिन्धुपाल्चोकको गाउँ—गाउँमा चेलीबेटी बेचबिखन विरुद्धको जनजागरण अभियानमा गीत गाउँदै नाँच्दै हिड्ने सामाजिक कार्यकर्ता,त्रि.वि.वि.सभा सदस्य,पद्मकन्या क्याम्पस स्नातकोत्तर तह(नेपाली प्रथम बर्षकी छात्रा,सोही क्याम्पसकी २०५१ सालकी ने.वि.सङ्घको समूहबाट विजयीस्व.बि.यू सभापति,विमर्श–चक्षु–राष्ट्रपुकार साप्ताहिकहरुसँग सम्बद्ध पत्रकार,जयतु संस्कृतम आन्दोलनका योद्धा तथा शिक्षक पिता रामप्रसाद न्यौपाने तथा समाजसेवी आमा जानुका न्यौपानेकी सुभद्रा–नानु–माया–एन्जीला छोरीहरु मध्ये की एक छोरी,रामेछापका नगर प्रमुख लवश्री र नेपाली काँगे्रस नेता कुशश्री न्यौपानेकी सहोदर बैनी तथा शेयर–सहकारी–निजी स्तरको जलविधुत आयोजनाको भण्डार व्यवस्थापनको अनुभवी जयश्रीको माइली दिदी सुश्री नानु न्यौपाने थिइन उनी ।

खानेपानीको अभावको विरुद्धमा भएको रित्तो गाग्री प्रदर्शनमा काठमाण्डौको शहीदगेटमा प्रहरीले मरणासन्न हुनेगरी पिटीएकी नानु,बिधार्थी सम्मेलनमा नेपालगञ्ज जान खर्च नहुँदा मैले “छैन है भाञ्जी पछि दिउला” भनेर ढाँटे पछि मेरो पर्स थैली लुकाईदिने हामी गोविन्द–डा.ऋषिराज–नवराज बराल सहितकी माइली भाञ्जी नानु ! शङ्कर होटेलको एक कार्यक्रममा मन्तब्य दिएर उपस्थित सवैलाई चकित पार्ने नानु ”(जनगदीशराज बराल,२०५८ । स्व.नानु ! जसलाई हामी विर्सदै गइरहेछौँ । राजधानी दैजिक । २८ अशोज,आइतबार,बि.सं.२०५८ ।) थिइन उनी ।

(३) सबैकी आँखाकी नानी

“भत्-भत् पोल्छ मुटु झ-झल्कोदेखिन्छ फोटो सबै,सपना वा बिपना कसोरी भनुं है रोकिन्न आँसु कसै । धारण धैर्यगरी बसे नि कसरी,आमा बुवा मावली,ए नानू ! अब दिन सक्छु अरु के ! मात्र यो श्रद्धाञ्जली ।”(–दुर्गादेवी नेपाल,२०५५ । दीपशिखा । बि.सं.२०५५ । पृष्ठ ४) ।

यी पंक्ति कोरिएका मसँग पद्मकन्या क्याम्पस स्व.वि.यू.को मुखपत्र दिपशिखाको २०५५ र २०६२ को अङ्कहरु समेत छन् । दुबैको मुख पृष्ठमा स्व.नानुको तस्वीर प्रकाशित भएको थियो । उक्त स्व.वि.यू.ले बि.सं.२०५९ सालमा क्याम्पसको हाताभित्र डेनिश हल अगाडी उनको प्रतिमा (सालिक) समेत निर्माण गरेको छ । नानुकी सहोदर कान्छी बहिनी एन्जिला २०५९ र २०६२ गरी २ पटक उक्त क्याम्पसको ने.वि.सं.को पैनलबाट विजयी भएर स्व.बि.यू. सदस्य एवं सचिव भएकी थिइन । “दिदीको पदचाप पछ्याउन सक्छु कि !” भन्ने आशा राखेकी महासमिति सदश्य एन्जिला चाँहि “नानु दिदीको लोकप्रियता र सबै पक्षका बिद्यलर्थीबाट अहिले पनि वहाँको प्रशंसा सुन्दा आफु पनि उहाँ जस्तै कर्मठ र इमानदार भएर सबैकी आँखाकी नानी हुन सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने”स्वीकार्छिन् । एन्जीलाको श्रीमान प्रदीप पौडेल हाल काठमाण्डौँ क्षेत्र नं.०५ का प्रतिनिधी सभा सदस्य हुनुहुन्छ ।

जनकपुर अञ्चलको रामेछाप जिल्ला,बबियाखर्क गाउँमा चौथो सन्तानको रुपमा बि.सं. २०२७ साल कार्तिक १५ गते छठ पर्वको दिन उदाएकी स्व.नानुको बाल्यकालको पूर्वाद्ध बिराटनगर–१० तीनटोलिया स्थित मावल घरमा बित्यो । कक्षा तीन उत्तीर्ण गरेपछि उनी आफ्नो घर रामेछाप फर्किइन र एस.एल.सी. उत्तीर्ण गरेपछि उच्च शिक्षा हाँसिल गर्न जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसको मानविकी सङ्कायमा भर्ना भइन् । नेविसङ्घका नेता दाजु कुशश्रीको प्रेरणाबाट उनको जीवनमा राजनीतिले यहिबाट प्रवेश पायो । र ने.वि.संघको सक्रिय कार्यकर्ता नेता भईन् । उनको २ बर्षे जनकपुर बसाइमा विद्यार्थी राजनीतिमा जुन प्रशंसा एवं उचाई पाइन् त्यो देखेर पूर्वमन्त्री विमलेन्द्र निधिसमेत छक्क पर्नु भएको कुरा एक पटक मसँगको भेटमा बताउनु भएको थियो । मानविकीमा प्रविणता प्रमाणपत्र तह उर्तीण गरीसकेपछि उनी काठमाण्डौंको पद्मकन्या क्याम्पसमा मानवीकीतर्फ स्नातक तहमा भर्ना भइन् ।

(४) नानु अर्थात एउटा जीवन्त कथा

नानु बितेको २८ बर्ष भएछ । उनलाई सम्झनेहरु—चिन्नेहरु भन्ने गर्छन्–“उनी त त्याग, तपस्या र बलिदानको एउटा जीवन्त रुप थिईन् ।” प्रजातन्त्र र न्यायका पक्षमा तथा बिकृति विसङ्गती,उत्पीडन तथा शोषण विरुद्ध लड्ने सबै सङ्घर्षको अर्को रुप उनी थिइन् भन्दा अतिसयोक्ति नहोला । छोटो उमेरमा त्यत्रो लोकप्रियता साँच्चै नै उदेक लाग्दो थियो ।

उनी सरल र मिलनसार थिईन् । उनको हृदय र बिचार अत्यन्त संबेदनशील थियो । रेडियोमा चेलीबेटी बेचबिखन सम्बन्धी गीत बज्दा उनका आँखा भरिन्थ्ये । मदन भण्डारी र जिवराज आश्रितको जीप दुर्घटनामा मृत्यु हूँदा उनी रोएकी थिइन् ।

आफ्ना व्यक्तिगत समश्याहरु अरुलाई व्यक्त गर्न नखोज्ने स्वभावकी उनले दिनभरि भोकभोकै सङ्गठनको निमित्त सक्रिय भएकी थुप्रै घटनाहरु थिए । चन्दा माग्नु भन्दा आफ्नो नाममा उधारो लिएर सङ्गठनको लागि खर्च गर्थिन् । गौरीघाटमा साइलो मामा नवराज,सहिली माइजु बन्दना बरालसँग बस्दा कलेज जान सहज हुन्थ्यो । साइलो बुवाको छोरा दाजु लम्बोर न्यौपाने विशालनगरमा बस्नु हुन्थ्यो । पढाईमा उहाँको पनि सहयोग हुन्थ्यो । उनका दाजुहरु कोही रामेछाप केही जनकपुर मै थिए । पूर्व मन्त्री कमला पन्त उनको मिल्ने साथी हुनुहुन्थ्यो । पूर्व मन्त्री लक्ष्मण घिमिरे,शिव बहादुर खडका र उहाँकी धर्मपत्नी दुर्गा कोइराला खडका समेतबाट राजनीतिमा सहयोग हुन्थ्यो । त्यही सम्बन्धले गर्दा कमला पन्त अहिले पनि हामीलाई मामा नै भन्नु हुन्छ । 

पजेरो संस्कृतिमा पुलपुलिएका नेपाली कांग्रेसका केही चिल्ला सुकिला कार्यकर्ताहरुलाई यस्तो सुन्दा पत्यार नलाग्न सक्छ । बहुप्रतिभाशाली थिईन उनी । घरेलुधन्दा, कटाई बुनाई, समाज सेवा पत्रकारिता, अध्ययन देखि लिएर राजनीतिसम्म उनको दखल हुनु चानचुने कुरा कुरो थिएन ।

(५) राजनीतिक समन्वयता :

सबै राजनीतिक बिचारधारा राख्नेसंग उनको सौहार्द सम्बन्ध थियो । विश्वका प्रजातन्त्रले पुँजीबादी बाटोको साटो समाजबादी बाटो नपक्डे प्रजातन्त्रको लाभ टाठा बाठा केही मुठ्ठीभरले मात्र लिन्छन् र सो दिगो नहुने भन्ने उनको बिचार थियो । वीपीको समाजबादी चिन्तन विपरित ने.का.को नीजिकरण नीति बिदेशबाट आयातित नीति हो भन्ने उनको गुनासो थियो । वीपीको प्रजातान्त्रीक समाजबाद र मदन भण्डारीको बहुदलीय जनबादलाई आफुले उस्तै उस्तै अर्थमा बुझेको कुरा बिराटनगर बसाइको क्रममा एक छलफलमा बताएकी थिइन् । माओबादीको नीति उनले देख्न बुझन पाइनन् ।

 “जँघार तरेपछि काम छैन भनेर लौरो फ्याक्नु हुन्न” भन्ने सर्वमान्य नेता गणेशमानज्यूको मान्यताप्रति उनको दृढ समर्थन थियो । ७२ र ३६ से गुटमा काँग्रेस बिभाजन भएको कुराले त्यसबेला उनको चित्त दुखेको थियो । दुबै पक्षका अलग–अलग जुलुश प्रदर्शन हुँदा काठमाण्डौंको माइतिघरमा जम्काभेट भएपछि आपसमा भएको ढुङ्गा हानाहानको घटना र सो घटनाको भोलीपल्ट कान्तिपुर दैनिकले त्यसबारे समाचार प्रकाशित गरेपछि ३६ से को पक्षमा समाचार लेखेको भन्दै तात्कालिन प्रधान सम्पादक योगेश उपाध्यायलाई कुनै कार्यकर्ताले टेलिफोनबाट झपारेको घटनाको स्मरण गर्दै यसले आफुलाई नराम्रो लागेको र यस्ता घटनाबाट पार्टी टुक्रन सक्ने सम्भावना भएको कुरा बिराटनगर बसाईको क्रममा मसँग बताएक थिइन् । नभन्दै काँग्रेस पछि गएर दुइटुक्रा भएर अव कहिले नजोडिने घोषणा तत्कालीन प्रजातान्त्रिक काँग्रेसका अध्यक्ष प्रर्व प्रम शेर बहादुर देउवाले त्यसबेला गर्नु भएको भएतापनि पूर्व प्रम गिरीजाप्रसाद कोइरालाकै सक्रियतामा पूनः नेकाको एकता हुन गयो । 

 दुबै पक्षले उनलाई उत्तिकै माया गर्दथे । चिल्ला र सुकिलाहरुको घेराबाट राजनेताहरु मुक्त हुनुपर्छ भन्ने उनको अडान थियो । महिला शसक्तीकरणको निमित्त बैचारिक अनेकता विविधता देखिएको उनको सोचाइ थियो । “साइलेन्ट लेडी (मीना खडका पाण्डे),आईरन लेडी (शैलजा आचार्य),सिम्पल लेडी (विद्या पाण्डे भण्डारी) र लजिक लेडी (साहना प्रधान श्रेष्ठ) बीचमा नितिगत एकता कायम नभएसम्म नारी मुक्ति एउटा औपचारिक नारामा मात्र हुने” उनको ठहर थियो । लोकतन्त्र स्थापना पछि यस सम्बन्धमा देखिएको नीतिगत एकताले उनको बिचार सही थियो भन्ने निक्र्यौल गर्न सकिन्छ । पछि लोकतन्त्रमा जयपुरी घर्ति जस्ती महिला नेतृत्व पनि विकशित हुन गयो ।

अर्को पार्टीको दस्तावेज र पत्रिका पढ्न भनेपछि नाक खुम्च्याउने प्रबृति भएको नेपाली राजनीतिक परिवेशमा उनी चाही जुनसुकै बिचारधाराको भएपनि खोजीखोजी पढ्थिन् ।

बिराटनगरमा उनलाई पढाउँदा मैले उनको कान्छो मामा मात्र नभएर एउटा शिक्षकको समेत भुमिका निभाएको थिएँ । त्यसैले राजनीतिको छलफल गर्नुपर्दा अरु मामाहरुँंग भन्दा मसँग नै बढी गर्थिन् । हिड्ने दिन २०५२ असोज २७ गते बिहान उनले मेरो किताबको दराज खोतल खातल पारेर तात्कालिन सञ्चार मन्त्री जय प्रकाश गुप्ता (आनन्द)को सम्पादनमा पञ्चायतकालिन समयमा निस्कने प्रतिबन्धित “जनआन्दोलन”,बिचार प्रधान “मुलधारा” “घोषणा” बिद्यार्थी प्रकाशनहरु योद्धा,प्रभात, विद्यार्थी आवाज,जस्ता पत्रिका अनि रुपरेखा,त्रिकोण,का केही अङ्कहरु र सी.के.प्रसाईको “आजको सरल राजनीति” किताब साथै “सिम्मा गीति नाटक” को पुस्तक र क्यासेट समेत झोलामा हालेकी थिइन् ।  

(६) सामाजिक परिपक्वता तथा राम्री हुने मानविय स्वभाव :

माता पिताबाट शैक्षिक आध्यात्मकता तथा नैतिकता,परिवारिक एकत,दिदीबाट,परिश्रम,दाजुहरुबाट राजनीति ,मामाहरुबाट सदाचार,स्वभीमान,अनुशासन,इमान,माइज्ुहरु सीता–सविता–बन्दना–लक्ष्मीबाट व्यवहारिक तथा समाजशास्त्रीय पक्षहरु सिकेकी हुनाले घाँस काट्ने देखी लिएर विचलित नभै जस्तो सुकै सङ्घर्षको सामना गर्न तयार हुन्थिन ।

राम्री हुन सबैलाई इच्छा हुन्छ । “माइजु, मलाई यसपाली राम्री हुन मन लागेको छ । नरिवल पानी, मसुरो र चनाको पिठो(बेसन) तयार गरिदिनुस् है ” विराटनगरमा भनेको मलाई सम्झना छ । तर सुन्दरताको लागि झोलामा राखिएका यी सामाग्री समेत सबै सिम्लेबेसीमा हराए ।

(७) दुर्घटना कसरी भयो ?

स्व.वि.यू.काउन्सिलको बैठक,पुर्वाञ्चलका ने.बि.सङ्घका नेता गुरु घिमिरे एवं अरु कार्यकर्ताहरुसँगको भेटघाट,दशैंमा शैलजा दिदी,गिरिजा बाबुको हातको टिका लगाउने धोको र चौध बर्ष पछि मावल जाने रहरले उनलाई बिराटनगर

पुर्याएको थियो । दशैं मनाएर गिरिजा बाबु बिराटनगरबाट काठमाण्डौं फर्कन लाग्दा बिराटनगर बिमानस्थलमा “नानु मसँग हिंड” भन्नु हुँदा “मावली हजुरबुवाको श्राद्ध सकेर कात्तिक ५ गते मात्र काठमाण्डौं जाने” इच्छा ब्यक्त गरेकी नानुले त्रि.वि.वि.बाट जापान जाने निम्तो प्राप्त भएकोले असोज २९ गते आईतबारसम्म अनिवार्य काठमाण्डौं आइपुग्नु पर्ने खबर ट्रङ्कबाट प्राप्त भएपछि नेपाली काँग्रेसका कार्यकर्ता,पूर्व वडा सदस्य,गाउँले भाई रमेश दाहालको नमस्कार ट्राभल्सको रात्रीबसबाट २७ गते साँझमा मैले उनलाई बिदाई गरें । रमेशजी पनि सँगै जाने भएकोले म ढुक्क भएँ । नानुको छेउको सिट महिला यात्रु नपाएसम्म खाली राख्ने आदेश रमेशजीले दिए । बसमा नेपाल सरकारका अरु कर्मचारीहरु पनि  थिए । हेटौंडा पुगेपछि मात्र नानुले महिला सहयात्री पाइन् । २८ गते बिहान चिया नास्ता खुवाएपछि बस हुइकियो । धादिङ्गको सिम्लेबेसीमा पुगेपछि बिहान ७ बजे तिब्र गतिमा आएको शाही सेनाको ट्रकले बसको पछाडिपट्टि ठक्कर दियो । पछाडिको सिटमा ड्राइभर साइडका एकजना यात्रु ठहरै भए । बसले सन्तुलन गुमाउन पुग्यो । बस मालिकले सबै यात्रुहरुलाई नउठ्न भन्दाभन्दै पनि आत्तिएर उठेका बस चालक र नानु चाही बस ढुंगामाथि बजारिएपछि हुत्तिएर दुबैजना खोलामा पछारिए । चालक तुरुन्तै बेहोस भए र बेहोस अवस्था मै उनको मृत्यु भयो । नानुको १ पर्यो । मदन भण्डारी झैं अत्यन्त छोटो अवधिमा राजनीतिक चर्चामा आएकी नानु छोटो समयमै विलय भईन्—मोटर दुर्घटनाबाटै । हरेक बर्ष असोज २८ गते र कात्र्तिक १५ गते उनलाई नसम्झिरहन सक्दैनौं ।

(८) फेरि श्रद्धाञ्जलीको यो हुँकार :

 “जनताको दिमाग बिगार्ने ऐतिहासिक कारण पनि त होला नी । यसको जिम्मेबार …,नेता स्वच्छन्दताको हाली मुहाली भएको छ । आफुलाई नभए,आफ्नाले नपाए,मर्यादा र आदर्शलाई तिलाञ्जली दिन्छन । मालिकको दाशत्वमा जनतालाई ढाँटीदिन्छन । नागरिक मनलाई बिगारी दिन्छन् । त्यस्कै परिणाम देशको यो हविगत ।”(रेशम चौलागाई,२०७४ । भत्केको घर,संग्रह । एस.एण्ड एस.अफसेट प्रेश,बबरमहल,काठमाण्डौं । बि.सं. २०७४।) । देश लथालिङ्ग छ ।  कम्युनिष्टको घर उहिले भत्काई दिएपछि राजाको दरबार पनि भत्काई दिए । अव नेपाली काँग्रैसको घर पनि करिव करिव भत्काई नै सकेका छन् । त्यसपछि देश नै भत्किने छ । चेली बेटी बेच्नेहरु देखी लिएर अरु अपराधमा मुछिएकाहरु दलमा भित्राउन होडबाजी छ ।

यो अवस्था देख्न पाएकी भए सिद्धान्त निष्ठ,सदाचारी नानुले कशरी सहन सक्थिन होला ? यी कुराहरु सोच्दा मन भावुक हुन्छ । र,अन्त्यमा बेचिएकि चेलीहरुको निमित्त एउटा उज्यालो फिलुङ्गो बाल्ने सपना बोकेकी स्व.नानुलाई बेचिएर कोठीमा नारकीय जिवन बिताईरहेकी एउटा चेलीको चली बेच्ने दुष्ट दलाललाई नष्ट गर्ने भावना बोकेको तलको हुँकार गीत समर्पण गर्दै श्रद्धाञ्जलीका दुई शब्द बिसाउँछु –“आँखामा आगो लिएर फेरि आउनेछु म पनि,चिन्याछु दुष्ट तँलाई एकदिन पार्नेछु खरानी ।”–(रक्तिम परिवारको जनगीति यात्रा भाग–४ बाट साभार) ।

(तस्वीर श्रेय : स्वर्गीय नानु—रामेछाप स्थित घरमा आमालाई घाँस दाउरा गर्न सहयोग पुर्याउदै,पद्मकन्या क्याम्पसको हाताचित्र रहेको उनको शालिक र साथमा स्व.वि.यू. सदस्य एवं बहिनी एञ्जिला न्यौपाने पौडेल,आमा बुवा,दिदी बहिनी–दाजुभाई,चारभाई मामा र आमाकी कान्छी बहिनी सानीमा ,नानुको श्रद्धाञ्जली सभा समेतको सवै छविचित्रहरु लेखकको एलबमबाट ।) ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *