यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया


काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् । क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन भनेर सञ्चार मन्त्रालयबाट पत्र आएको छ । हामीले इन्टरनेट सेवा प्रदायकलाई यसका लागि पत्राचार गरिरहेका छौं । नेपालमा एप र वेबसाइट (वेब) गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले यी दुवै माध्यम बन्द हुने बताए । नेपालमा दुईवटा वेब भर्सन र एप भर्सन दुवैमा हामी रोक लगाउँछौँ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) र टेलिकम अपरेटरहरुलाई यसमा पहुँच रोक्न लगाउँछौँ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गर्न लागेको र तत्कालैदेखि टिकटक बन्द हुने उनले बताए । सेवा प्रदायकहरुले वेबसाइट र एपमा पहुँच रोक गरेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा सरकारी उपकरणहरुमा टिकटकको प्रयोग प्रतिबन्ध छ । भारतमा भने टिकटक पूर्णरुपमा प्रतिबन्धित छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा धेरैले सहमति व्यक्त गरेका छन् भने आलोचना गर्ने पनि उत्तिकै रहेका छन् ।
यी हुन् टिकटक बन्द गरिएका देशहरूः
भारत
छिमेकी मुलुक भारतले राष्ट्रव्यापी रूपमा टिकटकलाई बन्द गरेको छ। सन् २०२० मा गोपनीयता र सुरक्षाको चिन्ताले टिकटकसहित दर्जनौं चिनियाँ एपहरू राष्ट्रव्यापी रूपमा बन्द गरिएको थियो। बन्द भएका एपहरूमध्ये विच्याट पनि थियो। लद्दाखको गलवानमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो। त्यसमा २० भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएका थिए। भारतले टिकटक कम्पनीलाई गोपनीयता र सुरक्षामाथि उठेका प्रश्नको जवाफ दिने मौका दिएको थियो। तर पछि स्थायी रूपमै बन्द गर्ने निर्णय गर्‍यो।
अफगानिस्तान
अफगानिस्तानमा तालिबानी सरकार आएपछि टिकटक बन्द गरेको थियो। तालिबानले सन् २०२२मा पब्जीसँगै टिकटकलाई पनि बन्द गर्ने निर्णय गरेको थियो। युवापुस्तालाई बहकिनबाट रोक्न यो निर्णय गरेको बताएको थियो।
अस्ट्रेलिया
अस्ट्रेलियाले आंशिक रूपमा टिकटक बन्द गरेको छ। यसले सरकारी फोनहरूमा टिकटक चल्न बन्द गरेको हो। गुप्तचर तथा सुरक्षा निकायहरूको सुझावपछि अस्ट्रेलियाले सरकारी फोनहरूमा टिकटक चलाउन बन्द गरेको हो।
बेल्जियम
बेल्जियमले पनि टिकटक आंशिक रूपमा बन्द गरेको छ। साइबर सुरक्षा, गोपनीयता र गलत सूचना फैलिएका कारण सरकारी फोनहरूमा टिकटक बन्द गर्ने निर्णय लिएको हो। प्रधानमन्त्री एलेक्सजेन्डर डी क्रुले गत मार्चमा टिकटक ६ महिनाका लागि बन्द गर्ने निर्णय गरेका थिए। ६ महिनापछि यसबारे पुनर्विचार गर्ने बताएको थियो।
क्यानडा
क्यानडा सरकारले पनि सबै सरकारी मोबाइल फोनमा टिकटक प्रतिबन्ध लगाएको छ। गत फेब्रुअरीमा सबै सरकारी फोनहरूमा टिकटक बन्द गरिदिने निर्णय गरेको थियो। सरकारी कर्मचारीहरूले पनि उक्त एप डाउनलोड गर्न नमिल्ने बनाइएको छ।
डेनमार्क
डेनमार्कले पनि गत मार्चमा सरकारी फोनहरूमा टिकटक चलाउन प्रतिबन्‍ध गरेको छ। साइबर सुरक्षा भएको भन्दै डेनमार्कले पनि यसलाई प्रतिबन्ध लगाएको छ। जासुसीको सम्भावना रहेको र फोनमा पहुँच पुर्‍याउन अनुमति माग्ने गरेको भन्दै प्रतिबन्ध लगाएको हो।
युरोपियन युनियन
गत मार्चमा युरोपियन युनियनले पनि टिकटकलाई अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो। सरकारी कर्मचारीहरूको फोनमा टिकटक नचल्ने गरी निर्णय गरेको थियो। युरोपियन युनियनले निर्णय गरेसँगै अन्य राष्ट्रले पनि टिकटकलाई प्रतिबन्ध लगाउँदै गएको थियो।
फ्रान्स
फ्रान्सले पनि गत मार्चमै टिकटकलाई आंशिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो। यसले सरकारी कर्मचारीहरूको फोनमा टिकटकमात्रै नभई ट्विटर, इन्स्टाग्राम र अन्य एपहरू बन्द गरेको छ। टिकटकलाई मात्रै प्रतिबन्ध गर्ने नभने पनि मनोरञ्जनात्मक एपहरू बन्द गर्ने बताएको थियो। यस्ता एपहरू सुरक्षित नभएको र खतरा हुनसक्ने बताउँदै बन्द गरेको थियो।
लात्भिया
गत मार्चमा लात्भियाका राष्ट्रपति एड्गार्डस रिनकिभिक्सले सुरक्षाका कारण टिकटक आफूले नचलाउने निर्णय गरेको बताएका थिए। उनले आफूले टिकटक डिलिट गरेको र यो एप सरकारी मेलहरू हुने फोनहरूमा चलाउन प्रतिबन्ध गरिएको बताएका थिए।
नेदरल्यान्ड्स
नेदरल्यान्ड्सले पनि सुरक्षाको कारण देखाउँदै कर्मचारीहरूको फोनमा टिकटक बन्द गरेको छ। यसले टिकटकको नाम तोकेर प्रतिबन्ध नलगाए पनि राष्ट्रविपरीत चलेका एपहरू नचलाउन सरकारले निरूत्साहित गरेको बताएको थियो।
न्युजिल्यान्ड
सरकारी साइबर सुरक्षा विज्ञहरूको सल्लाह र सुझावअनुसार न्युजिल्यान्डले पनि सरकारी कर्मचारी तथा सांसदहरूको फोनमा टिकटक बन्द गरेको छ। संसदको नेटवर्कमा रहने सबै फोनहरूबाट एप बन्द गरेको थियो। यद्यपि चलाउन चाहनेहरूका लागि भने कुनै रोक लगाइएको छैन।
नर्वे
नर्वे सरकारले पनि सरकारी कर्मचारीहरूको फोनमा इन्स्टल नगर्न भनेको थियो। नर्वेका सभामुखले टिकटक संसदको नेटवर्कमा जोडिन नहुने बताएका थिए। यहाँको राजधानी अस्लो र बर्जनले पनि आफ्ना कर्मचारीहरूलाई टिकटक आफ्नो फोनहरूबाट हटाउन भनेको थियो।
पाकिस्तान
पाकिस्तानी अधिकारीहरूले अस्थायी रूपमा कम्तीमा पनि चार पटक बन्द गरिसकेका छन्। सन् २०२० अक्टोबर यता टिकटकलाई पाकिस्तानी सरकारले पटकपटक बन्द गर्दै आएको छ। यस एपले अनैतिक सामग्रीलाई बढावा दिने गरेको भन्दै बन्द गरिएको छ।
ताइवान
सन् २०२२ डिसेम्बरमा ताइवानले सार्वजनिक क्षेत्रहरूमा टिकटक बन्द गरेको छ। एफबिआइले यसले सुरक्षामा चुनौती हुने बताएपछि ताइवानले सरकारी फोनहरूमा यसलाई प्रतिबन्ध लगाएको हो। फोनमात्रै नभई ट्याब्लेट, डेस्कटप, ल्यापटप लगायतमा चिनियाँ एपहरू चलाउन प्रतिबन्ध लगाएको हो।
बेलायत
बेलायतले पनि गत मार्चमा मन्त्रीहरू र सरकारी कर्मचारीहरूले चलाउने फोनमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ। सुरक्षाको खतरा मूल्यांकन गर्दै सरकारी फोनहरूमा बन्द गरिएको बताएको थियो। तर निजी फोनहरूमा भने यो नियम लागु नहुने बताएको छ।
संयुक्त राज्य अमेरिका
अमेरिकाले पनि टिकटक आंशिक रूपमा बन्द गरेको छ। सुरक्षाको खतरा रहेको भन्दै गत मार्चमा सरकारी फोनहरूबाट टिकटक हटाउन ३० दिनको समय दिएको थियो। टिकटक प्रतिबन्ध गर्ने निर्णय सरकारी कर्मचारीहरूको फोनहरूमा मात्रै गरेको हो।
सोमालिया
गत अगष्टमा सोमालियाले पनि आतंकवादसँग सम्बन्धित कन्टेन्टहरू रहेको भन्दै बन्द गरेको थियो। सरकारले आतंकवादी समूहरूले टिकटक र टेलिग्राम जस्ता एपहरू चलाइरहेको भन्दै बन्द गरेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *