सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल आउनबाट बचाउन टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको हो ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । भक्तपुरको मध्यपुर थिमि शंखधरचोकमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्रीको कुर्सीमा रहेसम्म नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन छुट नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णयको प्रसंग उल्लेख गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल आउनबाट बचाउन टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको आशय व्यक्त गरे । उनले टिकटकको नाम नलिई आशयपूर्ण ढंगले सरकारी निर्णयबारे प्रष्ट्याएका हुन् ।

रास्वपा केन्द्रीय सभापति रविलामिछानेतिर हेर्दै प्रधानमन्त्री प्रचण्डले सत्तामा रहेका दलहरु मात्र नभई प्रमुख प्रतिपक्ष एमाले र सरकार बाहिर रहेका सबै दलहरुसँगको सहमतिपछि यो निर्णय लिइएको बताए । उनले समाजमा विकृति, विसंगति र अराजकता फैलाउने खालका प्रवृत्ति नियन्त्रण गर्न अतिजरुरी भएर नै आफुहरुले यस्तो हिम्मत गरेको जिकिर गरे । उनले भने, ,‘म प्रधानमन्त्रीको हैसियतले नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्नेलाई रोक्नुपर्छ र नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिमा निर्णय गरिएको हो । केही साथीहरुको चित्त बुझेको छैन । छलफल हुँदै जाला । कन्भिन्स हुँदैजाने प्रक्रिया छँदैछ । प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्रिक र विकसित देशले अपनाएका विधि र मान्यता समेतको अध्ययन गरेर तथा नेपालमा विभिन्न मामिलाका जानकार एवं अध्येयताहरुसँग समेत छलफल गरेर टिकटक बन्द गरिएको आशय व्यक्त गरे । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *