विश्वकप छनोट अन्तर्गत आज नेपाल र यमन भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज (मंगलबार) यमनसँग खेल्दैछ ।
समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजेबाट सुरु हुनेछ । फिफा वरीयताको हिसाबमा नेपालभन्दा यमन १७ स्थान अघि रहेको टोलि भएपनि घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ । नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलिसकेको छ तर नेपालले कुनै खेल जित्न भने सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।
त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो । यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।
यस्तै एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको थियो ।
सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए ।