देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने छ ः महामन्त्री थापा
काठमाण्डौं । कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामानेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताएका छन् । महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे ।
अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ, उनले भने, गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन । नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठिक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ । गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए । देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।