लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो ः ओली
काठमाडौँ । नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए । ुहामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,ु उनले भने, लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो । त्यसको रक्षाका लागि एमाले उभिन तयार छ । जनताले लडेर ल्याएको राजनीतिक परिवर्तनका उपलब्धि रक्षा गर्नुपर्ने उनको भनाइ थियो । उनले नागरिकले नै सचेत भएर त्यसको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए । नेपालका विरुद्ध षड्यन्त्र भइरहेको पनि ओलीको भनाइ थियो । उनले जनतालाई विभिन्न बहानामा भड्काउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेका छन् ।
कसले त्यसो गरिरहेको भन्ने स्पष्ट नभने पनि ओलीले जनता सचेत हुनुपर्ने आग्रह गरेका हुन् । हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ । हाम्रा जनतालाई पहिचान, जात, धर्मका नाउँमा विभाजित गर्ने प्रयास भइरहेको छ । देशमा द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ, उनले थपे, केही समय अगाडि हिन्दु र मुस्लिमका बीचमा झगडा लगाउने कोसिस भयो । त्यो षड्यन्त्र पर्दाफास भयो । त्यो असफल भएपछि जनतालाई असामयिक, असान्दर्भिक कुरा निकालेर, जनतालाई अल्मल्याएर त्यस प्रकारका काम भइरहेका छन् । ओलीले मुलुकमा नयाँ(नयाँ निहुँमा व्यक्तिहरू खडा गरेर अस्थिरता ल्याउने प्रयास भइरहेको बताए । हल्लाका पछाडि नकुदौं । अनेक बुख्याँचा अगाडि देखाइएको छ । बुख्याँचाहरूको कुरा होइन, यहाँ देश जोगाउने, बनाउने कुरा छ । देशलाई समृद्ध पार्नुछ । यसमा हामी नेपाली एकताबद्ध भएर अगाडि बढ्नुछ । सरकारले राम्रो काम गर्न नसकेको पनि ओलीले बताए । उनले सरकारले राजनीतिलाई अराजक बनाएको पनि बताए । सरकारले नै अराजकता नियन्त्रण गर्नुपर्नेमा प्रोत्साहित गरिरहेको उनको भनाइ थियो । कुशासन सरकारको कारणले भएको बताउँदै ओलीले भने, कुशासन छ यसको अर्थ लोकतन्त्र, गणतन्त्र खराब भन्ने हुन सक्दैन ।