हमासको दोस्रो रिहाइको सूचीमा पनि परेनन विपीन जोशी

काठमाडौं । युद्ध विश्रामको दोस्रो दिन प्यालेस्टिनी विद्रोही समूह हमासले १३ इजरायली र चार थाई नागरिक रिहा गरेको छ । हमासले पहिलोपटक २४ बन्दी रिहा गरेको थियो । हमाससँग बन्दी साटासाटमा इजरायलले पनि ३९ जना प्यालिस्टिनी कैदीमुक्त गरेको छ ।

हमासले अन्य देशका बन्दी रिहाइ गरे पनि नेपाली विद्यार्थी विपीन जोशी रिहाइ सूचीमा परेका छैनन् । इजरायलस्थित नेपाली दूतावासले विपीनको रिहाइका लागि कूटनीतिक पहल भइरहेको र अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा विपीन छिट्टै रिहा हुने विश्वास व्यक्त गरेको छ ।

इजरायली सैन्य बलले हमासले रिहा गरेका १७ बन्धकको प्रारम्भिक स्वास्थ्य जाँच भएको र एकजनालाई अस्पताल पठाइएको जनाएको छ । उनीहरुको पनि अस्पतालबाट आफ्ना परिवारसँग मिलन भएको सैन्य बलले वक्तव्यमा उल्लेख गरेको छ ।

अधिकारीहरुका अनुसार ३९ प्यालिस्टिनी कैदी इजरायलको डामोन र मेगिड्डो तथा वेस्ट ब्यांकको ओफर जेलबाट मुक्त भएका हुन् । जसमा ३३ जना किशोर र ६ महिला छन् । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीसहित १२ सयभन्दा बढी मारिएका थिए ।

त्यसक्रममा हमासले नेपालका विपीन जोशीसहित दुई सयभन्दा बढीलाई बन्धक बनाएको थियो । युद्ध विराम भएपछि विपीनको परिवारमा छोरा पनि रिहा हुने भन्दै खुसी छाएको थियो । तर दुईवटा रिहाइको सूचीमा उनी नपरेपछि परिवारमा थप चिन्ता छाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *