एकीकृत समाजवादीको महाधिवेशन चैतमा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी महाधिवेशन आगामी चैतमा गर्न प्रस्ताव गरेका छन् ।

पार्टी कार्यालय तीनकुनेमा जारी सचिवालय बैठकमा अध्यक्ष नेपालले पार्टीको महाधिवेशन चैतमा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । यसअघि एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने तय भएको थियो । दुई वर्षअघि एमालेबाट अलग भएको एकीकृत समाजवादीभित्र अहिले नेताहरुको उमेर हदलाई लिएर अध्यक्ष नेपाल र नेता झलनाथ खनालबीच विवाद छ । खासगरी पार्टी विधानमा नेताहरुको उमेर हद ७० वर्ष तोकिएपछि दुई नेताबीच मतान्तर बढेको हो । नेपाल र खनाल दुवै ७० वर्षनजिक छन् ।

नेपालले आफू सुरक्षित हुनकै लागि चैतमा महाधिवेशन गर्ने प्रस्ताव गरेको बताइएको छ । त्यसो गर्दा अर्का नेता खनाल ७० वर्ष उमेर हदका कारण प्रतिस्पर्धाबाट वञ्चित हुनेछन् । खनालले आफू प्रतिस्पर्धाबाट वञ्चित हुने हो भने राष्ट्रियसभाको निर्वाचनलगत्तै माघभित्रै महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *