सिद्धार्थ साकोसको १४ औं साधारणसभा,क्यास लेस र पेपर लेस बनाउने योजना


भक्तपुर । मध्यपुर थिमि वडा न. ४ शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष राजेश श्रेष्ठले नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै स्थापनाकालदेखि नै सदस्य केन्द्रीत सेवा प्रदान गर्दै आएको बताए । सदस्यहरुको आर्थिक समृद्धिका लागि रोजगारी सृजना गर्ने आयमुलक तथा व्यवसायिक क्षेत्रमा ऋण लगानी गर्दै आएको उनले बताए । संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, निः शुल्क औषधी वितरण, पर्यावरणीय सन्तुलनका लागि वृक्षारोपण जस्ता थुप्रै क्रियाकलाप गर्दै आएको उनको भनाई छ । मुलकमा आएको आर्थिक मन्दीका कारण कतिपय सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकेको भए पनि सदस्यहरुको विश्वास र संस्थाको स्थायित्वका कारण त्यस्तो समस्या नआएको अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले स्थानीय व्यवसायीलाई उद्यमशिल बनाई स्थानीय उत्पादनलाइ बढावा दिन र बजारीकरण गर्नका लागि व्यवसायीसँग सिद्धार्थ भन्ने अवधारणा अगाडी बढाएको उनले जानकारी दिए । संस्थाले निकट भविष्यमा सदस्यहरुको व्यवसायलाई टेवा पुग्ने गरी बचत र ऋणका योजनाहरु ल्याउने उनले जानकारी दिए । त्यसैगरी संस्थाको कारोबारलाई क्यास लेस र पेपर लेस बनाउने योजना बनाएको समेत उनले सुनाए । संस्थाका सचिव सोहन कायस्थले आर्थिक बर्ष २०७९। ८० को प्रगति विवरण र यस आर्थिक बर्षको प्रस्तावित कार्य योजना सभामा प्रस्तुत गरेका थिए । संस्थाले यस आर्थिक बर्षमा निस्कृय सदस्य घटाई सक्रिय सदस्य बढाउने, सदस्यको स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने, सदस्यहरुमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने र सदस्यको मृत्यु हुदाँ उपलब्ध गराउँदै आएको राहत रकमलाई बढाएर ३० हजार पुर्याउने उनको भनाई छ । संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले आर्थिक प्रतिवेदन प्रस्तुत गदै गत असार मसान्तसम्म शेयर पुँजी ३ करोड ३७ लाख, बचत संकलन ३१ करोड २५ लाख , ऋण लगानी २१ करोड ४९ लाख गरी कुल कारोबार ३६ करोड ८३ लाख पुगेको बताए । संस्थाले त्यस अवधिमा ३६ लाख ८४ हजार खुद बचत आर्जन गरेको छ । संस्थामा १ हजार ६ सय १९ जना सदस्य आवद्ध रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *