नेपाललाई अमेरिकाले एमसीसीमा फसायो : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले चीनका विरुद्ध लड्न अमेरिकाका लागि महत्वपूर्ण थलो बनेको बताएका छन् । नेपालका शासकहरु अमेरिकासामू झुक्दै गइरहेको भन्दै उनले एमसीसी त्यसकै परिणाम भएको दाबी गरे ।

श्ुक्रबार जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भनेपनि अमेरिकाले नसुनेको बताए ।

‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेका छन्’ नेता खनालले भने, ‘एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । अहिले फरक कुरा सुनिँदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेको छ ।’ उनले राजावादीहरुले राजसंस्थाबारे बेकार हल्ला गरिरहेको समेत टिप्पणी गरे ।

नेता खनालले भने, ‘यो पृथ्वीमा कुनैपनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ । त्यो जीव होस् कि सत्ता । त्यो एकपटक मरेपछि त्यसको पुनः जन्महुँदैन । यस्तो अवस्थामा कसले उनीहरुको कुरा उठाउँछन् । सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन । हामी पनि कोठामा मात्रै बोल्छौं । सडकमा छैनौं । जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौं । अनि दुर्गा प्रसाईं नेता भइराख्छ ।’

नेता खनालले जनता कसैको पेवा नहुने उल्लेख बताउँदै भने, ‘जसले उसको हितमा काम गर्छ, जनता उसकै हुन्छ ।’ प्रचण्ड नेतृत्वको सरकारले पनि काम गर्न नसकेको उनको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *