मिलिजुली कालिञ्चोक साकोसको अध्यक्षमा गौतम
काठमाण्डौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभाबाट कृष्णबहादुर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । साधारणसभाबाट संचालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, सहसचिवमा अर्जुनप्रसाद चौलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्वाचित भएका हुन् । संचालक समितिको सदस्यमा देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, अनिता खड्का श्रेष्ठ, बिनिता सुवेदी भण्डारी, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाई, रुद्रजंग बुढाथोकी, शारदा थापा र सुजन काफ्ले निर्वाचित भएका छन् ।
सभाले नारायणप्रसाद सापकोटाको संयोकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ सदस्य रहेका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा संस्थाले नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ । संस्थाले ५ करोड ४४ लाख लागतमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको हो । आर्थिक बर्ष २०७९।८० असार मसान्तसम्म संस्थाको शेयर पुँजी ७ करोड ८२ लाख ५२ हजार, बचत संकलन ९१ करोड ३ लाख र ऋण लगानी ९८ करोड २९ लाख ८५ हजार रहेको छ । संस्थाका विभिन्न कोषहरुमा गरी १२ करोड ६१ लाख ५५ हजार, स्थिर सम्पत्ति १० करोड ९७ लाख र बाह्य ऋण ११ करोड ३३ लाख रहेको छ । संस्थाको कुल वासलात १ अर्ब २६ करोड १० लाख पुगेको छ । संस्थामा २५ हजार ६५ जना सदस्य र ९ हजार २६९ जना बाल सदस्य गरी ३४ हजार ३३४ जना सदस्य पुगेका छन् ।