नवजीवन सहकारी संस्थाको ३०औँ साधारणसभा सम्पन्न

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। संस्थाले सेयर सदस्य, सञ्चालक समिति, पूर्व समिति सदस्यहरू र कर्मचारीको उपस्थितिमा साधारणसभा तथा वार्षिकोत्सव संयुक्त रुपमा मनाएको हो । वि.स २०४९ सालमा सामुदायिक विकास कोषबाट सुरु भएको नवजीवन सहकारी संस्थामा हाल ३२ हजार ९ सय ७५ सेयर सदस्य आवद्ध छन् । वि.स २०५० मंसिर ३० गतेदेखि ६४ जना सेयर सदस्यबाट नवजीवन सहकारीको नामबाट विधिवत् सुरुवात भएको थियो । हाल संस्थाको सेयर पुँजी २८ करोड २४ लाख र जगेडा तथा कोषहरूमा ५५ करोड ५४ लाख रहेको छ । संस्थाले ४ अर्ब ४१ करोड ४५ लाख बचत संकलन गरी ३ अर्ब ९१ करोड ४६ लाख बराबर ऋण लगानी गरेको गर्न सफल भएको संस्थाका अध्यक्ष देव बहादुर बमले जानकारी दिए ।

संस्थामा २७ प्रतिशत तरलता रहेको र गत आवमा नवजीवन सहकारीले १२ करोड ४८ लाख मुनाफा कमाएको अध्यक्ष बमले जानकारी दिए । संस्थाले सेयर सदस्यहरूलाई लाभांशको अलवा संरक्षित पुँजी फिर्ता कोषबाट समेत रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष उक्त कोषबाट २ करोड १९ लाख रकम सदस्यहरूको बचत तथा कर्जाको अनुपातमा वितरण गरिने जनाइएको छ । सेयर सदस्यहरूले बचत गरेको आधारमा ४० प्रतिशत र ऋण लिएका सदस्यहरूको खातामा ६० प्रतिशतले हुन आउने रकम जम्मा गरिने अध्यक्ष बमले बताए । संस्थाले डेढ बिघा जमिनमा गोदाम घर निर्माण गरी धान संकलन गर्दै आइरहेको छ । भविष्यमा कुटानी, पिसानी र पेलानीका लागि मिल संचालन गर्न प्रक्रिया अगाडी बढाइसकेको बताइएको छ । गत वर्ष संस्थाले ४ हजार ८ सय क्वीन्टल धान खरिद गरी बिक्री गर्दा १६ लाख मुनाफा कमाएको थियो । निकट भविष्यमा सहकारीले नवजीवन ब्राण्डको चामल उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ । संस्थाले सम्बन्धित निकायबाट अनुमति लिइसकेकाले नवजीवन ब्राण्डको चामल बिक्री गर्न धान खरिद गर्ने काम भइरहेको संस्थाका अध्यक्ष बमले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *