श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः धिताल
काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण धिताल चयन भएका छन् । संस्थाको ९ औं वार्षिक साधारणसभाले धितालको नेतृत्वमा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सयुज रञ्जित, सचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा विजयकुमार सिग्देल रहेका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र पराजुली, अनिल बर्मा र हरि भट्ट निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा सुरेश महर्जन र सदस्यहरुमा टेकलाल श्रेष्ठ र अर्जुन श्रेष्ठ चयन भएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण धितालले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।८० मा सेयर पुँजी २ करोड ८७ लाख, जगेडा कोष ३८ लाख, अन्य कोष ६३ लाख, निक्षेप ८ करोड ९८ लाख, कर्जा लगानी ११ करोड ७१ लाख, कर्जा जोखिमको व्यवस्था ३८ लाख ५७ हजार र नाफा ३७ लाख रुपैयाँ रहेको छ । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेलन, कोषाध्यक्षको आय व्ययको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लगायत एजेण्डामा छलफल गरी पारित गरेको छ । संस्थाका जेष्ठ सदस्य गोपाल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।