नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइदेऊ परराष्ट्रमन्त्री साउद आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटमा उनले नेपालको माग राखेका हुन् । हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,,त्यसकारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ । परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् ।
जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए । रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो । उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे । हाम्रो सम्बन्धको जग बलियो छ, रुसी उपविदेशमन्त्रीले भने, हामीले यी सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।