कोशी प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी

काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी गरेको छ । गत शनिबार प्रदेश सरकारले गठन गरेको समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो ।

सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए । पहिचान पक्षधरसँग के कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउन समितिको बैठक बस्ने उनले बताए ।बैठकपछि आन्दोलनरत समूहलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गरिने भएको छ ।

प्रदेश नामकरणको विषयलाई शान्तिपूर्ण रुपमा सहमतिको वातावरण बनाउने प्रयास गरिने उनको भनाइ छ । सरकारको नीतिभित्र रहेर सकेसम्म समन्वय गरी छलफल गरिने भएको छ ।

गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

प्रदेश सभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेको थियो । कोशी नामको पक्षमा एमाले, नेपाली कांग्रेस, माओवादी र राप्रपासहितले समर्थन गरेका थिए । उक्त नामकरणपछि पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *