डिजिटल वालेट खल्ती सातौं वर्षमा प्रवेश
काठमाण्डौं । नेपालको अग्रणी डिजिटल वालेट सेवा ‘खल्ती’ ले सातौँ वार्षिकोत्सव मनाएको छ । सन् २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरणको सुरुवात गरेको खल्तीले हाल इभेन्ट टिकेटिङ्देखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गरिरहेको छ। निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई व्यापार ओगट्न सफल खल्तीमार्फत् दैनिक करिब ३ लाख भन्दा बढी कारोबार हुने गरेको जनाएको छ।
खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आइएसओ २७००१ः२०१३ प्रमाणिकरण प्राप्त गर्नुका साथै हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ। खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकेटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने जनाएको छ।