प्रधानमन्त्री कपमा आर्मीको छैटौं जित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले छैटौं जित निकालेको छ । आर्मीले सोमबार सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष २ मा रहने सम्भावना बलियो बनाएको हो ।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४०.१ ओभरमा १६५ रनमा समेटियो । सुदूरका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन जोडे । ७४ बलको सामना गरेका उनले ६ चौका र ३ हिर्काए । किरणको अलवा शेर मल्ल २४, नरेन भट्ट १८, नारायण जोशी १३,गजेन्द्र बोहरा १२, प्रकाश पाण्डे ११ तथा नरेन साउद र विकाश आग्री समान ३ रनमा आउट भए ।
यता बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए । शाहब आलम, कुशल मल्ल र वसिर अहमदको नाममा १ विकेट रह्यो । यो जितसँगै आर्मीले ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिँदा सुदूर भने ८ अंक जोड्दै उपाधि होडबाट लगभग बाहिरिएको छ । सुदूर अंक तालिकाको छैटौं स्थानमा झरेको छ ।
यसअघि मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको थियो । आर्मीका लागि सर्वाधिक रन जोडेका कुशल मल्लले अर्धशतक प्रहार गरे । ६७ बलको सामना गरेका मल्लले १० चौका र ३ छक्का हिर्काउँदै ७५ रन जोडे । सन्दीप रजालीले ३७, वसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३०, शाहब आलमले २१ तथा इमरान शेखले ९ रन थपे । कप्तान विनोद भण्डारी र भीम सार्की समान २ रनमा आउट हुँदा विवेक यादवले पनि ४ रन मात्र थप्न सके ।
बलिङतर्फ सुदूरका भोजराज भट्टले सर्वाधिक ६ विकेट लिए । ९.४ ओभर बलिङ गरेका भट्टले ६३ रन खर्चिए भने नरेन साउदले तीन विकेट लिए । एक विकेट विकाश आग्रीको नाममा रह्यो ।