नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा ४६ अर्बसम्म अफर
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि ४० अर्ब रकम बजारबाट खिचेको हो । राष्ट्र बैंकका अनुसार आजको बोलकबोल प्रक्रियामा १६ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए ।
यी संस्थाले कुल ७३ वटा आवेदन पेश गरेका थिए । राष्ट्र बैंकले ४० अर्ब खिच्नको लागि आवेदन माग गरेकोमा बैंकहरुले ४६ अर्ब १५ करोडसम्म रकम अफर गरेका थिए । आजको ब्याज बोलकबोल प्रक्रियामा बैंकहरुले न्युनतम ३ प्रतिशत र अधिकतम ३.३२७७ प्रतिशतसम्मको ब्याजमा आवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले भारित औसत ब्याजको रुपमा ३.१७३५ प्रतिशतमा ४० अर्ब रकम खिचेको छ । आज संकलन गरिएको उक्त निक्षेप २०८० फागुन ८ गते परिपक्व हुनेछ । गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ ।