म प्रधानमन्त्री बनेपछि उत्तरी क्षेत्रका नाकामा आवतजावत सहज भयो ः प्रधानमन्त्री दाहाल
काठमाडौं । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको बताएका छन् । उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सरु र व्यवस्थित गर्न कुरा प्राथमिकतामा राखेको बताए ।
त्यसैको परिणामस्वरुप तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए । उनले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले सहमति मात्रै पर्याप्त नहुने भन्दै थप कुटनीतिक पहलबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउने बताए ।