कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्छौं : महामन्त्री थापा (पूर्णपाठ)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने बताएका हुन् । उनले आफ्नो संगठानिक प्रस्तावमा उल्लेख गरेका छन्- ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले प्रस्ताव पेस गर्दै भने,’हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘ रुखु मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’
आजदेखि शुरु भएको बन्दसत्रमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरिसकेका छन् भने लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेश गरेका छन् ।
अब महासमिति सदस्यलाई दुई भागमा बिभाजन गरेर सामुहिक छलफल गर्ने तालिका रहेको कांग्रेसले जनाएको छ ।