राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो । उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । दाहालको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ुसंघीय संसद् सदस्य विवरण, २०८० पुस्तकमा उल्लेख छ ।
त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सल्लाहकारसमेत रहेको नारायण दाहालको अनुभव छ । माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धन हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यषमा एमालेको उम्मेदवार बन्ने सहमति छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त थियो । माओवादीमा हालकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्षका आकांक्षी थिए । राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ ।