बाँसबारी जग्गामा राजनीतिकरण गरियो, अनुसन्धानलाई सघाउछु : सांसद चौधरी
काठमाडौं । सांसद विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई आज बयान दिएर निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तथा उद्योगपति चौधरीले बाँसबारी जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् । उनले घटनालाई राजनीतिकरण गरिएको बताउदै आफुले अनुसन्धानमा सघाउने बताएका छन् ।
उनले भने- ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ । ४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’ उनीसँग सीआइबीले करिब दुई घण्टासम्म बयान लिएको थियो । सिआइबीले यस अघि बुधबार उनका भाई बसन्त चौधरीसँग पनि बयान लिएको थियो ।
सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ । यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउदै पत्र संसद सचिवालयमा पत्र दर्ता गराएको थियो ।