आठ स्वतन्त्रसहित २० जनाको इलाम–२ मा उमेदवारी दर्ता
काठमाडौं । उपनिर्वाचनका इलाम क्षेत्र नम्बर–२ का लागि २० जनाको उमेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ । शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा राजनीतिक दलका तर्फबाट १२ र आठजनाले स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराएका आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
उनीहरू सबै पुरुष हुन् । नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले उमेदवारी दर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बू, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र डाकप्रसाद गौतमलगायत व्यक्तिले उमेदवारी दर्ता गराएका आयोगले जानकारी गराएको छ । सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।