इरानी ड्रोन आक्रमणको ९९ प्रतिशत प्रतिरक्षा गर्न सफल भयौँ – इजरायल
जेरुसेलम । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।
सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन कार्यक्रममा भने, ‘इरानी आक्रमण विफल पारिएको छ ।’ हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।
ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे । रक्षामन्त्री योआभ ग्यालान्टले भने, ‘संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।’
इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् । यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका हुन् ।
यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’को जबाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।