कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो । कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताएका छन् । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *