हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ राई, सुशान्त केसी र सुरक्षा पन्त
काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको सीजी मोटर्सले नक्सालस्थित स्टेट अफ दि आर्ट सोरुममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीका अनुसार गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राई हिरो स्प्लेन्डर सिरिजको ब्रान्ड एम्बेसडर बनेका हुन् । हिरो विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हो ।
सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा बजार विस्तारका लागि व्यापार योजना घोषणा गरेकोे थियो । कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल उत्पादन गर्नसक्ने क्षमताको एसेम्बल प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुम सञ्चालन गरिरहेको बताएको छ । कम्पनीले अहिले एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जुम बिक्री गरिरहेको छ ।